दोक्लाम घटनापछि पहिलोपटक खुलेको मानसरोवरको दैलो

फेरि सुरु भएको यो यात्राले भारतको धार्मिक आस्थासँगै भू–राजनीतिक सक्रियता र हिमाली पर्यटनप्रतिको आकर्षणलाई समेत पुनर्स्थापित गरेको छ

श्रावण १, २०८२

पर्वत पोर्तेल

Mansarovar dam opened for the first time after the Doklam incident

विराटनगर — भारतले सिक्किमको नाथुला मार्ग खुला गरे पनि नेपाली भूभाग हुँदै कैलाश मानसरोवर पुग्ने मार्ग अझै धेरैको रोजाइमा पर्छ । विशेषगरी भारतीय तीर्थयात्री यो बाटोलाई बढी मन पराउँछन् । किनकि यो दुरीमा छोटो मात्रै छैन, प्राकृतिक रुपमा रमणीय पनि छ । 

दार्चुला–लिपुलेक हुँदै पदमार्ग वा सिमकोट–हिल्सा मार्ग हुँदै हवाई मार्गबाट मानसरोवरसम्म पुगिन्छ । यद्यपि, यो मार्ग छोटो भए पनि भौगोलिक रूपमा चुनौतीपूर्ण मानिन्छ । खर्च पनि तुलनात्मक रूपमा बढी पर्छ ।

यो मार्गमा भारतीय र नेपाली ट्राभल एजेन्सीले १० देखि १५ दिनको प्याकेज यात्रा सञ्चालन गर्छन् । जसको कुल लागत करिब ३ देखि ४ लाख नेपाली रुपैयाँ पर्न जान्छ । त्यसको विपरीत, नाथुला हुँदै जान कम्तीमा २० दिन लाग्ने भएकाले लामो समय छुट्याउनुपर्ने हुन्छ । साथै, बस र सवारी साधन प्रयोग गरिने भएकाले यात्रा केही ढिलो र थकानपूर्ण हुन सक्छ । 

यात्राको भू–राजनीतिक पाटो हेर्दा सन् २०२४ डिसेम्बर १८ मा बेइजिङमा सम्पन्न २३औं भारत–चीन विशेष प्रतिनिधि बैठक अत्यन्तै महत्वपूर्ण रह्यो । पाँच वर्षपछि आयोजित यो उच्चस्तरीय वार्तामा चीनका वरिष्ठ नेता वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए ।

बैठकमा दुई देशबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने, नाथुला मार्ग हुँदै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने र सीमापार व्यापार विस्तार गर्ने विषयमा गहिरो सहमति भएका थियो । त्यही सहमति वमोजिम लामो समयपछि मानसरोवर यात्राको दैलो खुलेको हो । 

अनलाइन आवेदनमार्फत छनोट

पृथ्वीका रहस्यमयी र अद्भुत स्थलमध्ये एक हो, कैलाश मानसरोवर । चीनको तिब्बती भूभागमा अवस्थित यो पवित्र भूमि समुद्री सतहबाट करिब ५ हजार मिटरको उचाइमा रहेको छ । यसलाई केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, प्राकृतिक सौन्दर्य, मौनता र भूगोलको चमत्कारिक संरचनाको रूपमा पनि अत्यन्त विशिष्ट मानिन्छ ।

यही अलौकिक गन्तव्यतर्फ भारत सरकारले पुनः आफ्नो दृष्टि केन्द्रित गर्दै करिब आठ वर्षपछि फेरि यात्रा सुरु गरेको छ । सन् २०१७ मा दोकला सीमा विवाद र त्यसपछिको कोरोना महामारीका कारण अवरुद्ध भएको नाथुला मार्ग हुँदै कैलाश मानसरोवर यात्राको मार्ग अब फेरि पुरानै लयमा फर्किएको छ । 

यात्राका लागि भारतीय नागरिकले अनलाइन आवेदन दिने र कम्प्युटराइज्ड लक्की–ड्र प्रणालीबाट छनोट हुने व्यवस्था गरिएको छ । छनोटमा परेपछि यात्रुले स्वास्थ्य परीक्षण, पासपोर्ट प्रमाणीकरण, पूर्वाभ्यास तालिम र करिब २ लाख ८३ हजार भारु शुल्क सरकारलाई बुझाउनुपर्छ । 

Mansarovar dam opened for the first time after the Doklam incident

मानसरोवर यात्रामा जाने यात्रीहरुलाई उत्तर प्रदेश, उत्तराखण्ड, हरियाणालगायत राज्य सरकारले आंशिक अनुदान समेत उपलब्ध गर्ने गरेका छन् । उत्तर प्रदेशले १ लाख, हरियाणाले ५० हजार र उत्तराखण्डले ३० हजार अनुदान दिन्छन् । दिल्ली, गुजरात, कर्णाटक र मध्यप्रदेश सरकारले पनि २० हजार देखि १ लाख सम्म यात्रा अनुदान दिने गरेको भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नाथुला मार्गमा अहिले चीन र भारत दुवैले सशक्त पूर्वाधार निर्माण गरेका छन् । उच्च हिमाली वातावरणमा अनुकूलनका लागि स्वास्थ्य शिविर, मौसम निगरानी केन्द्र र आपतकालीन सहायता संयन्त्रहरू स्थापना गरिएका छन् । यात्रा व्यवस्थापनमा सुरक्षाको उच्च प्राथमिकता दिइएको सिक्किमको मुख्यमन्त्रीका सल्लाहकार वीरेन्द्र ताम्लिङले बताए ।

के हो दोक्लाम विवाद ?

दोक्लाम एउटा उच्च हिमाली पठार हो, जुन भुटानको दक्षिण–पश्चिमी सीमामा अवस्थित छ । यद्यपि, यो भू–भाग भूटान र चीनबीचको दाबीमा पर्ने विवादित क्षेत्र हो ।

सन् २०१७ को जुनमा चीनले दोक्लाम क्षेत्रमा नयाँ सडक निर्माण सुरु गर्‍यो । भुटानले यसलाई आन्तरिक क्षेत्रको उल्लंघन मानेर आपत्ति जनायो । भारतले भुटानको आग्रहमा सैन्य हस्तक्षेप गर्दै सडक निर्माण रोक्ने प्रयास गर्‍यो । चीनले भारतको यो कदमलाई आफ्नो क्षेत्रीय अखण्डता विरुद्धको कार्य भन्दै कडा आपत्ति जनायो । त्यसपछि भारत र चीनका सैनिक करिब ७८ दिनसम्म दोक्लाम क्षेत्रमा आमने–सामने भए, जसले तनावको चरम अवस्था निम्त्यायो । 

दोक्लाम भारतका लागि रणनीतिक दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो, किनकि यो स्थान ‘चिकेन नेक’ (सिलिगुडी कोरिडोर) छेउमै पर्छ । एक साँघुरो भू–भाग, जसले भारतको उत्तर–पूर्वी राज्यहरूलाई बाँकी देशसँग जोड्छ । यही कारण भारतले दोक्लामको भौगोलिक स्थायित्वलाई सुरक्षा दृष्टिले अत्यन्त महत्वपूर्ण ठान्दै आएको छ ।

दोक्लाम विवादले भारत–चीन सम्बन्धमा दरार मात्र ल्याएन, नाथुला मार्ग हुँदै कैलाश मानसरोवर यात्रा र सीमापार व्यापार पनि पूर्णरूपमा अवरुद्ध बनायो । त्यसबेला यात्रामा निस्किएका झन्डै सय भारतीय तीर्थयात्रीलाई चिनियाँ सेनाले नाथुला पासबाटै फर्काएको थियो । त्यो घटनाले धार्मिक यात्रालाई समेत भू–राजनीतिक तनावको सिकार बनाएको थियो । 

त्यसअघि, सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमणका क्रममा दुवै देशबीच नाथुला मार्ग प्रयोग गरेर भारतीय तीर्थयात्रीलाई मानसरोवरसम्म यात्रा गर्न दिने समझदारी भएको थियो । त्यो सम्झौतापछि पहिलो पटक करिब २ सय यात्रु त्यो मार्ग प्रयोग गरी मानसरोवर पुगेका थिए । दोक्लाम तनावले अवरुद्ध यात्रा करिब आठ वर्षपछि फेरि खुलेको छ । 

सन् २०२५ को जुनदेखि सुरु भएको यो यात्राले भारतको धार्मिक आस्थासँगै भू–राजनीतिक सक्रियता र हिमाली पर्यटनप्रतिको आकर्षणलाई समेत पुनः स्थापित गरेको छ । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully