मालपोत कार्यालय प्रमुखको थमौती माग्दै बिचौलिया लामा भेट्न आएको भूमिमन्त्रीद्वारा स्वीकार

'रामचन्द्र अधिकारीको सरुवा भइसकेपछि उसलाई थमाइदिनुपर्‍यो भनेर दुई तीन- जना मान्छे ल्याएर आउनुभएको थियो'

श्रावण १, २०८२

जयसिंह महरा

Acknowledgment by the Minister of Lands who came to meet the middleman asking for the relief of the Head of the Land Port Office

What you should know

काठमाडौँ — कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा भएपछि बिचौलिया सुजन लामाले आफूलाई भेटेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्वीकार गरेका छन् । घूस डिल गरेको प्रकरणमा सार्वजनिक पछिल्लो अडियोमा लामाले मन्त्री अधिकारीलाई भेटेको दाबी गरेका थिए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सुजन लामालाई कहिले र कुन प्रसंगमा भेट भएको हो भनी कान्तिपुरले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले मालपोत कार्यालयका प्रमुखको सरुवा सम्बन्धमा भेट भएको स्वीकार गरेका हुन् ।

'सुजन लामासँग मेरो भेट कहिले भयो भन्दाखेरि जुन उहाँले कुराहरू (अडियोमा) उठाउनुभएको छ  । जब कर्मचारी सरुवा भइसकेपछि, रामचन्द्र अधिकारीको सरुवा भइसकेपछि उसलाई थमाइदिनुपर्‍यो भनेर दुई-तीन जना मान्छे ल्याएर आउनुभएको थियो,' लामासँगको भेटमा भएका कुरा स्मरण गर्दै मन्त्री अधिकारीले भने, 'मैले प्रस्ट भने सरुवा भएको कर्मचारी थमौती हुँदैन । कर्मचारी प्रक्रियाबाट सरुवा भएको कुरा हो, जाने-आउने गर्छन् भनेको हो ।'

भूमि समस्या समाधान आयोगको कास्की अधयक्ष नियुक्तिको बेला नभई मालपोत कार्यालय प्रमुखको सरुवाको बेला भेट भएको मन्त्री अधिकारीको भनाइ थियो । 

मन्त्री अधिकारीले भने भूमि समस्या समाधान आयोग कास्की अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको सम्बन्धमा नभई मालपोत कार्यालय प्रमुखको सरुवाको सम्बन्धमा कुराकानी भएको दाबी गरेका हुन् । 

तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया लामा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठको कुराकानीको पहिलो अडियोमा पनि मन्त्री अधिकारीको नाम आएको थियो । दोस्रो अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीसँगको भेटमा भएको कुराकानी उल्लेख गरेका थिए ।

‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको ? तपाईंको नाममात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवार जस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थें भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडियोमा लामाले भनेका छन् ।

लामालाई परिवारको मान्छे‍ भन्नुभएछ नि ? भन्ने प्रश्नको जवाफमा मन्त्री अधिकारीले एकै ठाउँ र परिवारलाई चिनजान रहेको भनेपछि त्यो शब्द बोलेको बताए । 'उहाँले आउँदाखेरि तपाईंका भाइलाई चिनेको छु, गाउँ यहाँ हो, यसोउसो भनेपछि पहिला त भेटघाटै भएको रहेनछ भनेको हो । सामूहिक रुपमा भनेको हो, हाम्रैतिरको हुनुहुँदो रहेछ । पहिला आएको भए हुन्थ्यो भनेको हो । उहाँको टिमसँगै भनेको हो,' मन्त्री अधिकारीले लामासँगको भेटमा भएका कुराबारे थप प्रस्ट पारे ।

मालपोत कार्यालय प्रमुख अधिकारीले लामा लगायतको काम गरिदिन्छु भनेर प्रतिबद्धता जनाएपछि आफूलाई भेट्न आएको हुनसक्ने मन्त्री अधिकारीको भनाइ थियो । कसले के गरेको छ ? भन्ने कुरा आफूलाई थाहा नरहेको पनि मन्त्री अधिकारीले बताए । स्वार्थ पूरा नभएपछि आफूलाई त्यो प्रकरणमा मुछ्ने काम भएको हो कि भन्ने मन्त्री अधिकारीको दाबी छ ।    

घूसमा आफ्नो मन्त्रालय र छोरालाई जोडेकोमा भने मन्त्री अधिकारीले आपत्ति जनाएका छन् । सार्वजनिक अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो सरोकार नभएको पनि उनको भनाइ थियो । 'मन्त्रीले भ्रष्टाचार गरेर खायो भनेर आएको छ । मेरो छोराको नाम पनि छन् । त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो । मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पूरा गर्नको लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ,’ उनको भनाइ थियो । 

बिचौलिया लामाले भने न्युजिल्यान्डमा बस्ने मन्त्री अधिकारीका छोरा मनोज नेपाल आएर घूसको ‘सेटिङ’ मा संलग्न भएको अडियोमा बोलेका छन् । बुबा मन्त्री बनेपछि उनी नेपाल आएको भनिएको छ । प्रकाश दाहाल, आर्यन शर्मालगायतका बिचौलिया समूहले मन्त्री अधिकारी र उनका छोरा मनोज पोखरा पुगेको बेला प्रभावमा पारेर पैसाको चलखेल गरी मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा गरेको अडियोमा भनिएको छ । रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो ।

मन्त्री अधिकारीलाई मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीले ललितपुरस्थित मन्त्री क्वाटरमा पुगेर ३२ लाख रकम बुझाएको पनि अडियोमा भनिएको छ । ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्‍यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला,’ लामाले अडियोमा भनेको सुनिन्छ । मन्त्री अधिकारीले भने यी सबै आफ्ना काम नभएपछि लगाइएका आरोप भएको बताएका छन् ।

भूमि मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलले पनि पाँच लाख रुपैयाँ घूस लिएको अडियोमा दाबी गरिएको छ । त्यस सम्बन्धमा आफू जानकार नरहेको मन्त्री अधिकारीले बताए ।

घूस प्रकरणको छानबिनका लागि आफू खुला रहेको पनि मन्त्री अधिकारीले बताए । तर, पदबाट राजीनामा दिने कि नदिने भन्ने प्रश्नको जवाफमा भने, 'कसैले आरोप लगाएकै भरमा, भोलि म फलानाले यसो गर्‍यो उसो गरिदियो भनौला त यहाँ को बाँकी रहन्छ  ।'

मन्त्री पद सधैका लागि प्राप्त नभएको अधिकारीको भनाइ थियो । त्यसै पनि सत्तारुढ गठबन्धनमा सरकार निर्माण भएको एक वर्षमा मन्त्रिपरिषद् पुनर्गठनको सहमति रहेको अधिकारीको भनाइ थियो । सोही सहमति अनुसार आफ्नो कार्यकाल सकिने संकेत उनले गरे ।  

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे तत्कालिन मन्त्री गुप्ता, भूमिमन्त्री अधिकारीलगायत सचिवहरू संलग्न रहेको अडियो सार्वजनिक भएको थियो । यस सम्बन्धमा अख्तियारले पनि छानबिन थालेको छ । यसै प्रकरणमा मन्त्री राजकुमार गुप्ताले राजीनामा गरिसकेका छन् ।     

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully