विराटनगर — भुटानी शरणार्थी काण्डमा मुछिएर लामो समय थुनामा बसेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमुक्त पछि बुधबार पहिलो पटक सार्वजनिक रूपमा देखिए। त्यो पनि विराटनगरको ऐतिहासिक कोइराला निवासमा। उनी अचानक कोइराला निवासमा देखिएपछि कांग्रेस वृत्तमा अनेक अड्कलबाजी सुरु भए।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव अध्यक्ष रहेको नेपाल–भारत युवा मैत्री संघको कार्यक्रममा सहभागी हुन विराटनगर आएका खाँणको कोइराला निवासको भ्रमणलाई राजनीतिक रूपमा अत्यन्तै अर्थपूर्ण मानिएको छ।
खाँण पुग्नुअघि नै कोइराला निवासमा विराटनगरका कांग्रेस नेताहरू र कार्यकर्ताको बाक्लो उपस्थिति थियो। उनले त्यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी मात्रै गरेनन्, कार्यकर्ताहरूसँग घनिष्ठ भेटघाट पनि गरे।
‘कोइराला निवास मेरा लागि तीर्थ हो। यो पवित्र भूमि हो। यहाँ कृष्णप्रसाद, बीपी र गिरिजा बसेका थिए। मैले यो भूमिलाई स्पर्श गर्ने चाहना राखेको थिएँ, आज त्यो पूरा भयो,’ उनले भने।
तर, उनको यो भावनात्मक भनाइमा पनि गहिरो राजनीतिक सन्देश मिसिएको बुझ्न गाह्रो थिएन।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चर्चा तीव्र हुँदै गएको छ। सभापतिमा शेखर कोइरालाको सम्भावित उम्मेदवारीलाई लिएर पार्टीभित्र बहस सुरु भइसकेको छ। त्यहीबीच देउवा समूहका विश्वासपात्र मानिने बालकृष्ण खाँणको अचानक कोइराला निवास पुग्नु सामान्य संयोग मात्रै हो त? ‘नेता गुटको आधारमा होइन, मूल्य र सिद्धान्तको आधारमा चयन हुनुपर्छ। कांग्रेस गुटभन्दा माथि उठ्नुपर्छ,’ खाँणको भनाइले सम्भावित असन्तोष र वैकल्पिक सोचको संकेत दिएको छ।
भुटानी शरणार्थी प्रकरणमा पार्टी नेतृत्वले अपनाएको भूमिकाप्रति खाँणको गुनासो अझै बाँकी छ। उनले अनुशासन समितिको कामप्रति पनि खुलेर आलोचना गरे। ‘अनुशासन समितिले पक्षपातपूर्ण निर्णय गर्यो। प्रक्रिया पालना गरेन। यस्तो समितिले पार्टीलाई बलियो बनाउँदैन,’ उनले भने।
उनको तीव्र असन्तोषबाट प्रस्ट हुन्छ कि खाँण केवल भावनात्मक भ्रमणमा होइन, रणनीतिक सन्देश दिन कोइराला निवास आएका हुन्।
बालकृष्ण खाँण २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छन्। शेरबहादुर देउवाका विश्वासपात्र मानिने खाँण पछिल्लो समय गम्भीर आरोपको घेरामा परे। तर, उनले चुप लागेर बस्नेभन्दा संवादको बाटो रोजेका छन्।
कोइराला निवासमा पुग्नु उनको व्यक्तिगत आस्था मात्रै होइन, भावी राजनीतिक समीकरणप्रतिको सम्भावित झल्को पनि हो।
‘सभापति शेरबहादुरजीलाई सफल बनाउन सबै लागेका छौँ। उहाँ असफल भए कांग्रेस मात्र होइन, प्रजातान्त्रिक प्रणाली नै कमजोर हुन्छ,’ खाँणले भने।
कतिपयले उनको कोइराला निवास आगमनलाई देउवा र शेखर कोइरालाबीचको दूरी घटाउने प्रयासको संकेतका रूपमा हेरेका छन्।
उनले दोहोर्याए, ‘कोइराला निवास धार्मिकस्थलजस्तै हो। यहाँ सधैँ आइरहनुपर्छ। सत्प्रयासका लागि ऊर्जा प्राप्त हुन्छ।’
खासमा खाँणको कोइराला निवास भ्रमण भावनाले मात्रै होइन, राजनीतिक अर्थले पनि भरिएको देखिन्छ। नेतृत्वको बहस चुलिँदै गर्दा, कांग्रेसभित्रको शक्ति सन्तुलन, असन्तुष्टि र सम्भावित पुनरागमनको यो दृश्यले महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ तरङ्ग पैदा गरेको छ।
