शिक्षा समिति सभापतिको टिप्पणी : विद्यालय शिक्षा विधेयक ‘शिक्षक विधेयक’ जस्तो भयो

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Education Committee Chairman's Comment: The School Education Bill has become like a 'Teacher's Bill'

काठमाडौँ — विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । लामो समयदेखि यो विधेयक टुंगो लाग्न सकेको छैन । सरकारका कारणले गर्दा यो विधेयक पारित हुनबाट रोकिएको समितिका सांसदलहरूले बताउन लागेका छन् । 

यसैबीच समिति सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको बताएका छन् । त्यो राजनीति विद्यालय शिक्षा विधेयकमा पनि पसेको उनको भनाइ छ । 

समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक 'शिक्षक विधेयक' जस्तो भएको उनको टिप्पणी थियो । 'शिक्षाको अवस्था सुधारका लागि विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ । अहिले पनि शिक्षक महासंघको अध्यक्ष यही हुनुहुन्छ । उहाँसँग सबै सहमति हुन्छ, अन्त गएपछि के हुन्छ थाहा छैन । उहाँहरूका धेरै मागहरू हामीले सम्बोधन पनि गरिसकेका छौं,' उनले भने, 'शिक्षा विधेयक नै अहिले शिक्षक विधेयक भएको छ । आज हामी शिक्षकहरूई देशभरका विद्यार्थीप्रति उत्तरदायी बनाउन सकियो, शिक्षकका सेवा सुविधा थप्न सकियो भने मात्र विद्यार्थी असल बन्न सक्छ भन्ने हाम्रो समितिको ठहर छ ।’ 

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्ध निर्णय गर्दै आएको पनि समिति सभापति थापाको भनाइ थियो । आवेदनकै आधारमा समूदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्यो, तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन,' उनले भने, 'तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रुपले हामीले शिक्षालाई लथालिंग पारेका छौं ।'

समिति सभापति थापाले शिक्षा, स्वास्थ्य, देश विकासमा कुनैपनि राजनीतिक दलले राजनीति गर्न नहुने बताए ।   

कान्तिपुर

Link copied successfully