एक थान सांसद हुनु ठूलो कुरा भएन : कुलमान घिसिङ

असार ३२, २०८२

होम कार्की

Being an MP is not a big deal: Kulman Ghising

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदबाट हटाइएको तीन महिनापछि बहराइन पुगेर कुलमान घिसिङले आफूले उज्यालो नेपाल अभियान थालेको बताएका छन् ।

१८ असारमा बहराइन पुगेर युएई, ओमान र कतार हुँदै १४ दिने यात्रा सकेर नेपाल फर्केका कुलमानले यसबीचमा नेपाली श्रमिकहरुसँग औपचारिकभन्दा धेरै अनौपचारिक संवाद गरे । कान्तिपुरसँगको कुराकानीमा उनले यो अभियान नेपालको पूर्ण परिवर्तनको लागि सुरु गरिएको बताए । 

कुलमानले पूर्ण परिवर्तनको लागि हामीले के-के योजना र कार्यक्रम गर्न सक्छौँ ? सुशासन  कायम गर्न के गर्न सक्छौँ ? सम्पूर्ण क्षेत्रको परिवर्तन कसरी गर्न सकिन्छ भन्ने सोचेर अभियान अगाडि बढाएको बताए । उनले भने, 'त्यसलाई कार्यान्वयनमा लैजान सक्ने नेतृत्व त आवश्यक पर्ला । त्यो दबाब दिने माध्यम पनि बन्छ । विभिन्न राजनीतिक दलमा राम्रो नेतृत्व जन्मियो भने त्यो पनि एउटा सम्पत्ति हुन्छ । यसैबाट पार्टी खोलेर अगाडि बढ्नुपर्छ भन्ने छैन नि ।'  कुलमानले तत्कालै पार्टी खोल्ने आफ्नो मनसुवा रहेको नबताए पनि उनी ढिलो वा छिटो राजनीतिमा आउने संकेत भने गरे । 

आफूले खाडीमा भेटेका धेरै नेपाली श्रमिकले राजनीतिमा आउन आह्वान गरेको बताउँदै उनले कुनै एउटा सांसद वा व्यक्ति कुनै ठाउँमा पुगेर मात्रै परिवर्तन सम्भव नहुने बताए । उनले भने, 'अहिलेको अवस्थामा म एउटा सांसद भएर ठूलो परिवर्तन गर्न सक्छु भन्ने मलाई लाग्दैन  । म आए हुन्थ्यो भन्ने धेरैको अपेक्षा र आशा होला । तर, मैले कसैसँग सल्लाह र छलफल गरेको छैन । यस्तो गर्नुपर्‍यो भनेर आएको पनि छैन । एक थान सांसद हुनु ठूलो कुरा भएन । मन्त्री नै भयो भने पनि ठूलो कुरो होइन ।' 

कुलमानसँगको विस्तृत भिडियो अन्तरवार्ता आज राति ८ बजे इकान्तिपुरको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ । 

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully