फेरि तुइनबाट खसेर महाकालीमा बेपत्ता

किनमेलका लागि हिँडेका व्यास–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइन बाँधिएको खम्बा भाँचिँदा महाकालीमा खसे 

असार ३२, २०८२

मनोज बडू

Again fell from Tuin and disappeared in Mahakali

दार्चुला — किनमेलका लागि हिँडेका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । मंगलबार मध्याह्नतिर भारतीय बजारतर्फ जाने क्रममा तुइन बाँधिएको खम्बा भाँचिएर उनी महाकालीमा खसेका हुन् । 

व्यास–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइन बाँधिएको भारतपट्टिको खम्बा भाँचिएको थियो । नारायणसँग रहेका दुई जनामध्ये २६ वर्षीय जितु विष्ट तरिसकेका थिए भने अर्का जयदु बुढाथोकी वारि (नेपालतर्फ) थिए । नारायण नदीको बीच भागमा पुग्दा तुइन खसेको थियो । उनको खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालित भएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले जानकारी दिए । 

वडाध्यक्ष बुढाथोकीका अनुसार गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए । ‘अघिल्लो वर्ष दुम्लिङ क्षेत्रकै १८ वर्षीय सचिन बुढाथोकी पनि तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनीहरू तीनै जना फरक–फरक तुइनबाट खसेका हुन्,’ उनले भने, ‘प्रत्येक वर्ष तुइनबाट खसेर यहाँका कोही न कोही महाकालीमा हेलिएकै हुन्छन् ।’

२०७८ सालमा तुइनबाट महाकालीमा खसेका जयसिंह धामी अझै बेपत्ता छन् । त्यसको अघिल्लो वर्ष व्यास–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका थिए । 

केपी शर्मा ओलीले २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर दशकसम्म पनि सीमान्त जिल्ला दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा तुइनबाटै वारपार गर्न बाध्य छन् । दुम्लिङमा मात्रै स्थानीयले तीन ठाउँमा तुइन लगाएर महाकाली वारपार गर्छन् । व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नुपर्ने बाध्यता छ । 

डोरी वा फलामको सामान्य तारलाई वारिपारि रूख, ढुंगा वा खाँबोमा अड्काएर तर्दा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी प्रमुख डीएसपी दाहालले नेपालतर्फ दुम्लिङ र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको बताए ।

दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि सरकारलाई कैयौं पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताए । उनका अनुसार महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माण आवश्यक छ । ‘सबैभन्दा बढी दुम्लिङका बासिन्दालाई पुलको खाँचो छ,’ वडाध्यक्ष बुढाथोकीले भने । 

दार्चुला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा नेपाल–भारत जोड्न व्यास गाउँपालिकाका ५ ठाउँमा महाकालीमाथि पुल हालिएको छ । सबैभन्दा माथिल्लो क्षेत्र सीतापुलमा पुरानो काठेपुल छ भने अन्य ४ ठाउँमा नयाँ झोलुंगे पुल छन् ।

मंगलबार दुर्घटना भएको स्थानबाट नजिकको वडा २ कै माल्घाटस्थित झोलुंगे पुल पुग्न दुई घण्टा लाग्छ । अर्को झोलुंगे पुल वडा ४ को मल्घट्टेमा छ । वडा ५ को तिगरम, वडा ६ को बडुगाउँमा पनि झोलुंगे पुल छन् तर ती टाढा छन् । झोलुंगे पुल टाढा रहेकाले र पुलसम्म पुग्ने बाटोसमेत सहज नहुँदा स्थानीयले पायक पर्ने ठाउँमा अस्थायी तुइन राख्ने गरेका छन् । 

व्यास–२ दुम्लिङ र बुदी तथा वडा ५ धौलाकोटका बासिन्दा तुइनमार्फत महाकाली वारपार गर्छन् । सदरमुकाम आउने पैदल बाटोसमेत गतिलो नभएका कारण उपभोग्य वस्तु किनमेल, औषधि उपचारलगायत आधारभूत कामका लागि तुइनमार्फत भारतीय बाटो धाउनुपरेको स्थानीय बासिन्दाको गुनासो छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully