उपेन्द्र यादवलाई सरकारमा ल्याउन गृहकार्य

प्रधानमन्त्री ओलीले सोमबार राति बोलाएको बैठकमा अध्यक्ष यादव पार्टीका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर बालुवाटार पुगेका थिए 

असार ३१, २०८२

कुलचन्द न्यौपाने

Homework to bring Upendra Yadav into government

काठमाडौँ — कांग्रेस र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई सरकारमा सहभागी गराउने गृहकार्य सुरु गरेका छन् ।

कांग्रेस र एमाले मिल्दा पनि राष्ट्रिय सभामा सरकारको पक्षमा बहुमत नभएकाले प्रतिनिधिसभामा ५ र राष्ट्रिय सभामा ३ सदस्य भएको जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । त्यसमा कांग्रेसको समेत समर्थन छ । 

राष्ट्रिय सभामा अल्पमतमा पर्दा सरकारले चाहेजस्तो विधेयक पारित नहुने जोखिम बढेकाले पनि जसपा नेपाललाई सरकारमा ल्याउन खोजिएको बालुवाटार स्रोतले बतायो । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सदस्य आवश्यक पर्छ । कांग्रेसका १६ र एमालेका १० सदस्य छन् । सरकारमा सहभागी लोसपाको १ र जसपा नेपालको ३ सदस्य पक्षमा हुँदा मात्रै सरकारलाई बहुमत पुग्छ । 

सरकारमा सहभागी नभए पनि जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । तर, सरकार सहमतिविपरीत चलेको निष्कर्ष निकाल्दै केही दिनअघि मात्रै पार्टीको केन्द्रीय कार्यकारणी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको थियो । पार्टीको उक्त निर्णय कार्यान्वयन गर्न संसदीय दललाई निर्देशन दिइए पनि सरकारमा सहभागी हुने विषयमा संवाद भइरहेका बेला अध्यक्ष यादवले दलको बैठक डाकेका छैनन् । पार्टी अध्यक्ष यादव संसदीय दलका नेता पनि हुन् । 

प्रधानमन्त्री ओलीले सोमबार राति बोलाएको बैठकमा अध्यक्ष यादव पार्टीका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीले ‘मधेशको मुख्य शक्ति नै तपाईंहरू, मिलेर जाऔँ, सरकारमा आउनुहोस्’ भनेर प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक मंगलबारको संसद् बैठकको कार्यसूचीमा चढाउन निर्देशन दिएर बैठकमा बोलाएपछि जसपा नेपालका नेताहरू सुरुमै झस्किएका थिए । 

वरिष्ठ उपाध्यक्ष यादवले एकातिर सरकारमा सहभागिताका लागि समझदारी गरौं भन्ने अर्कोतर्फ अध्यादेशकै भाषा राखेर भूमि विधेयक प्रतिनिधिसभाको कार्यसूचीमा चढाउने कार्यले सहमति हुन नसक्ने भनाइ राखेपछि सरकार पछि हटेको बताए । ‘भूमि विधेयकलाई संसद्को कार्यसूचीमा राख्ने निर्णय हाम्रो सहमतिबिना भएको छ । सहमति र छलफलको वातावरण बनाउन यसलाई कार्यसूचीबाट हटाउनुपर्ने अडान राख्यौं,’ यादवले भने, ‘सम्भवतः सरकारले मंगलबारको कार्यसूचीमा राख्दैन ।’

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य सकारात्मक ढंगले अघि बढिरहेको बताए । ‘आजको छलफल प्रारम्भिक चरणको हो,’ उनले भने । तर, जसपा नेपालका वरिष्ठ उपाध्यक्ष यादवले कांग्रेस र एमालेलाई आफ्नो कोर्स करेक्सन गर्न र सरकारमा सहभागिताबारे रोडम्याप ल्याउन आग्रह गरेको जानकारी दिए । 

‘एक वर्षदेखि समर्थन गरे पनि सरकारले हाम्रा अपेक्षा र प्रतिबद्धता पूरा गर्न सकेन । सुशासन, आर्थिक गतिविधिलाई तीव्रता दिने र संविधान संशोधनजस्ता दुई दलबीचको सातबुँदेमा कुनै ठोस प्रगति भएको छैन । बजेट निर्माण र प्रमुख निर्णय प्रक्रियामा हामीलाई सहभागी गराइएको छैन । सभामुखले समेत हाम्रो सचेतकलाई परामर्शका लागि बोलाउने गर्नुभएको छैन । यही कोर्स करेक्सनका कुरा हामीले राखेका छौं,’ उनले भने, ‘त्यसपछि पार्टीमा छलफल गरेर निर्णय लिने भनेका छौं ।’

कुलचन्द

Link copied successfully