शाहीको अभिव्यक्तिप्रति बरालको नियमापत्ति 

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Baral's objection to Shahi's statement

काठमाडौँ — एमाले सचेतक सुनिता बरालले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका विषय संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएपछि बरालले नियमापत्ति गरेकी थिइन् । 

बरालले संसद्लाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने बताइन् । ‘यो संसद्‍मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ’, बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।’ 

सरकारको नेतृत्वमाथि गलत आरोप लगाएर देशको नामकरण नै फरक तरिकाले गर्नुपर्छ भनेर बदनाम गर्न खोजिएको उनको भनाइ थियो । उनले घूस डिल प्रकरणमा नाम मुछिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता दोषी देखिए कारबाही गर्न आफ्नो दल तयार रहेको उल्लेख गरिन् । ‘केही दिनअघि एक मन्त्रीको नाम जोडेर अडियो सार्वजनिक भएको थियो । यो कारबाहीको विषय होला । हामी पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छौं  । जब सिंगो सरकारको नेतृत्वमाथि आरोप लगाएर देशकै बदनाम गर्न खोजिएको छ । देशको नामकारण नै फरक तरिकाले गर्ने भनेर जुन खालको अभ्यास र जुन मनोविज्ञान स्थापित गर्न खोजिँदैछ, यो विषय गलत छ । यो सदन यस्ता खालका गलत प्रवृत्ति र मानकहरू स्थापित गर्नका लागि होइन ।’ 

बरालभन्दा अघि बोलेका शाहीले भ्रष्टाचारमा वर्तमान सरकारले जिनिज बुकमा नाम लेखाउने काम गरेको आरोप लगाएका थिए । ‘नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंहरू गिनिज बुकमा नाम लेखाउनुस् । यो सरकार जनता र देशको हितमा काम गरेको भए आज रेकर्ड भयो गिनिज बुकमा नाम लेखाउनुस्’, उनले भनेका थिए, ‘ज्ञान नपाए कासी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनू ।’  शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्र उन्मुक्ति नपाउने भन्दै पक्राउ गरेर थुन्न माग गरेका थिए ।

कान्तिपुर

Link copied successfully