बसाइँसँगै सरिरहेछन् छाउगोठ

असार ३०, २०८२

भवानी भट्ट

Neighborhoods are moving along with migration

कञ्चनपुर — कृष्णपुर नगरपालिका–१ निगालीकी अस्मिता दमाई ४६ वर्षकी भइन् । उनको परिवार २०२२ सालतिर अछामको साँफेबगर क्षेत्रबाट बसाइँ सरेर यहाँ आएको हो । १५/१६ वर्षको उमेरमा विवाह भएपछि मात्रै उनको परिवारले चार पटक घर सारिसकेको छ ।

हरेक पटक काठको घरसँगै छाउगोठ पनि नयाँ ठाउँमा सारिएको थियो । अस्मिता लामो समय श्रीमान् सुके दमाईसँगै रोजगारीका लागि भारतको मुम्बईमा बस्थिन् । घरमा आएका बेला त्यहीँ गोठमा सुतेर छाउ बार्थिन् । शुक्रबार राति सर्पले डसेर उपचारका क्रममा मृत्यु भएकी देउरानी नाता पर्ने कमला आउजी दमाई उनकै छाउगोठमा सुतेकी थिइन् ।

‘मेरो छाउगोठ चुहिन्छ दिदी, म हजुरकै गोठमा सुत्छु भनेर सरसफाइ गरेर गई, मैले नाइँ कसरी भन्नु,’ अस्मिताले भनिन्, ‘अघिल्लो दिन नाति बिरामी भएकाले अनिदो थिएँ, त्यो दिन चाँडै सुतिहाले, कमला आएर सुतेको थाहै पाइन, केहीबेरमा सर्पले टोक्यो भनेर चिच्याउन थालेपछि उठेर अटो खोज्नेदेखि गाउँलेलाई पनि बोलाएँ ।’ उनका श्रीमान् सुके र देवर सिद्धले नै उनलाई अटोमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए ।

Neighborhoods are moving along with migrationसर्पदंशबाट मृत्यु भएकी कमलाको घर र सँगै रहेको छाउगोठ । तस्बिरः भवानी भट्ट/कान्तिपुर

 छाउगोठमा सर्पले डसेर कमलाको ज्यान गएपछि अस्मिताको छाउगोठ भत्काइएको छ । घरसँगै छाउगोठ पनि सारिरहने अस्मिता अझै पनि दोधारमा छिन्, ‘फेरि अर्को छाउगोठ बनाउने कि घरभित्रै सुत्ने?’ उनले मनैदेखि घरभित्र सुत्न सक्ने भनेर भन्न सकिरहेकी छैनन् । लामो समय उनको परिवारले भारतमा ज्यालामजदुरी गरेर अहिले पक्की घर बनिरहेको छ । तर त्यहीँ पक्की घरभित्रै सुते देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वासले उनको मनमा जरा गाडेको छ । ‘गोठ त भत्कायौं, तर मेरो मनको भय त भत्किएन,’ उनले भनिन्, ‘देवीदेउताले र यहाँका मान्छेले यो पनि भत्काइदिनुपर्‍यो ।’

सर्पले डसेर उपचारका क्रममा मृत्यु भएकी कमलाको घर अगाडिको छाउगोठ पनि उस्तै छ । उनको परिवारका सदस्य पनि अन्यौलमै छन् । कृष्णपुर नगरपालिकाले आइतबार सबै वडा कार्यालयलाई १५ दिनभित्र छाउपडी गोठ भत्काउन निर्देशन दिँदै नभत्काइए कानुनअनुसार कारबाही र १० हजार जरिवाना समेत गरिने भनेको छ । ‘छाउगोठ त भत्काउने भनेको छ, तर हाम्रो परम्परा कसरी भत्केला?’ सोमबार भारतको सुरतबाट घर पुगेकी कमलाकी जेठानी रुपाले भनिन्, ‘इन्डियामा त घरभित्रै सुत्थ्यौं, यस्तो गर्दैनथ्यौं, यहाँ पनि अब छाउगोठ भत्काउने भनेको छ, त्यसपछि के हुन्छ हेरौंला, अहिले घरभित्रै सुत्न सकिन्छ भन्न सकिँदैन ।’

कमलाको मृत्युपछि आइतबार कृष्णपुर नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन दिएको छ । गत वर्ष पनि नगरपालिकाले वडा १ कै कुमगडामा ४ वटा छाउगोठ भत्काएको थियो । वडा १ कै तल्लो पहरिया क्षेत्रमा पनि केही छाउगोठ भत्काएको वडाध्यक्ष मोहन बस्नेतले बताए ।

‘छाउगोठ भत्काउन गएको टोलीमाथि नै कुटपिट, गालीगलौज पनि भयो,’ वडाध्यक्ष बस्नेतले भने, ‘भत्काएका छाउगोठ पनि फेरि बनाए ।’ नगरपालिकाले सूचना जारी गरेपछि साउन १ देखि छाउगोठ भत्काउने अभियान सुरु गरिने उनले बताए । निगालीमा घरैपिच्छे छाउगोठ छन् । सबैको घर अगाडि वा पछाडि छाउगोठ देखिन्छ । अहिले पनि महिलाहरू घरभित्र सुत्ने मनस्थितिमा छैनन् ।

‘छाउगोठ मात्रै भत्काएपछि घरभित्र कसरी बस्ने भन्ने चिन्ता हुन्छ,’ कमलाकी छिमेकी जानकी थापाले भनिन्, ‘कमला र मसँगै महिनावारी भएका थियौं, मैले मेरै गोठमा सुतौं भनेकी थिएँ, उनी जेठानीको गोठमा सुत्न गइन्, त्यहीँ सर्पले टेकेर यस्तो भयो ।’

सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपडी गोठ भत्काएर परम्परागत कुप्रथा अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने भएकाले अभियान सञ्चालनका लागि जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

शुक्रबार सर्पले डसेपछि सेती प्रादेशिक अस्पतालमा शनिबार मृत्यु भएकी कमलाका परिवारका सदस्य सोमबार भारतबाट घर आइपुगेका छन् । उनका श्रीमान् पुरन, सासू-ससुरा तथा जेठाजु र जेठानी सबै घर फर्किएका छन् । कमलाका माइती पनि भारतमै भएकाले उनीहरू साँझ मात्रै पुग्ने र त्यसपछि शव बुझेर मंगलबार मात्रै अन्तिम संस्कार गरिने श्रीमान् पुरनले बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully