स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खाऔँ : प्रधानमन्त्री

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Let's eat organic food that does not harm health: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिएका छन् । सोमबार भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै ‘निरोगी नेपाल’ को नारा दिएको बताए। निरोगी नेपालका दुई वटा पक्ष रहेको उल्लेख गर्दै एउटा बिरामी नै हुन नदिने र अर्को बिरामी भए पनि तत्काल उपचार हुने स्थितिको निर्माण गर्ने रहेको बताए। निरोगी रहने सम्भावना कम हुँदै गएको भन्दै यस स्थितिमा सुधार गर्न जरुरी रहेको बताए।

स्वास्थ्यका लागि खाना खानुपर्ने र सन्तुलित खानेकुरा खानुपर्ने बताए। अरूको उपचार मात्रै गर्ने नभई आफ्नो स्वास्थ्य पनि ठीक राख्न व्यायाम, प्राणायाम गर्न चिकित्सकहरूसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, ‘खानपिनमा ध्यान दिनुपर्छ, काममा ध्यान दिनुपर्छ, आराममा ध्यान दिनुपर्छ। तीन वटा कुराको सन्तुलन हुनुपर्छ। खानपिन स्वस्थ हुनुपर्छ। स्वास्थ्यका लागि खाना हुनुपर्छ। स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना हुनुपर्छ। काम गरेन र अल्छि भयो भने खाना पच्दैन। रोग लाग्न थाल्छ। पाचन प्रणाली ठीक राख्न काम गर्नुपर्छ। डाक्टरसाबहरूलाई पनि मेरो सुझाव छ—अरूको उपचार गर्ने मात्रै होइन, आफू पनि स्वस्थ रहनुस्। व्यायाममा ध्यान दिनुहोला। योग गर्नुभयो भने धेरै राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको अभियानलाई महत्वका साथ अघि बढाइरहेको बताए।

कान्तिपुर

Link copied successfully