काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरूमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यसबारेमा सभापति शेरबहादुर देउवासँग कुरा गर्ने बताए ।
'यो बीचमा एउटा नमिठो एउटा घटना पार्टीभित्र भयो । माननीय सभापतिज्युसँग म अहिले पनि कोसिस गर्दछु । पार्टीलाई बृहत् एकताबद्ध बनाउनुपर्छ । आवश्यक पनि छ । किनभने हामी चौतर्फी घेराबन्दीमा छौँ । यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्व जस्तै अनुशासन पर्व चल्यो,' उनले भने ।
अहिले भइरहेको कारबाही समय र पार्टीको परम्पराका हिसाबले पनि ठिक नभएको उनको भनाइ छ । 'न पार्टीको कानुनको हिसाबले, विधानको हिसाबले ठिक छ । यस हिसाबले पार्टीलाई थप कमजोर बनाउँछ,' महामन्त्री थापाले भने । महामन्त्री थापाले पार्टीका संगठन चलायमान बनाउनेमा ध्यान दिन जरुरी रहेको बताए ।
