चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने

असार २९, २०८२

कान्तिपुर संवाददाता

Transfer of cancer medicines and medical supplies to four hospitals, provided free of charge to patients

काठमाडौँ — क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

मन्त्रालयले आईतवार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु (विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ ।

औषधिहरु असार २७ गते शुक्रबार नेपाल आइपुगेका थिए । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो । औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महंगो रहेको बताए ।

साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरु यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरुलाई लक्षित गरी औषधि ल्याइएको बताए । यसले धेरै नागरिकलाई राहत पुर्‍याउने विश्वास व्यक्त गरे । 

औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए । 

नेपालमा झन्डै ५० लाख मानिसले अस्पताल जानुपर्छ, उपचार सेवा उपलब्ध छ, राज्यले कतिपय रोगको निःशुल्क उपचार गर्दछ भन्नेकुरा नै जानकारी नहुने उनको भनाइ छ । 

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यि औषधि र स्वास्थ्य सामग्रीहरु चार अस्पतालमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ । 

मन्त्रालयले सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा यि औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।

कान्तिपुर

Link copied successfully