जनमत पार्टीका निलम्बित उपाध्यक्ष र कोषाध्यक्षलाई कारबाहीको सिफारिस

असार २९, २०८२

विद्यानन्द राम

Recommending action against the suspended Vice President and Treasurer of Janmat Party

राजविराज — आर्थिक अपचलनको आरोप लगाउँदै जनमत पार्टीले निलम्बन गरेका उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ । 

सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्यहरुको आइतबारको बैठकले पार्टीविरोधी गतिविधिमा संलग्न रहेको भन्दै उक्त निर्णय गरेको हो । जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा बसेको बैठकले निलम्बितद्वय उपाध्यक्ष र कोषाध्यक्ष विगतमा पनि पार्टीको अनुशासन तोडेको, व्यक्तिवादी र स्वार्थी चरित्र देखाएको तथा चुनावका समयमा पार्टीविपरीत गतिविधि गरेको पुष्टि हुने तथ्य प्रमाण फेला परेकोले त्यस्तो निर्णय गरिएको जनाइएको छ ।

दुवै जना निलम्बित रहँदा समेत अनाधिकृत रूपमा पार्टीको नाम र झन्डा प्रयोग गरी कार्यकर्तालाई दिग्भ्रमित पार्ने कार्य गरेको आरोप पनि लगाइएको छ भने यसअघि नै पार्टीको रकम दुरुपयोग गरेको, पार्टीका नाममा आएको लेवीको रकम अपचलन गरेको, पार्टीको रकमवाट खरिद गरिएका सम्पत्ति निजीकरण गरी फिर्ता गर्न आनाकानी गरेको आरोप लगाई दुवै जनालाई निलम्बन गरिसकेको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully