बाढीपहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

असार २९, २०८२

डम्बरसिं राई

Khotang administration urged to be cautious as the risk of flood has increased

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले वर्षाका कारण बाढी तथा पहिरो जाने सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म औसतभन्दा बढी वर्षा हुने अनुमान गरेकाले बाढी तथा पहिरो जाने जोखिम बढेकाले सतर्कता अपनाउन आइतबार सूचना जारी गरी आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जारी गरेको सूचनामा जिल्ला र सीमानामा प्रवाह क्षेत्र रहेको दूधकोशी र सुनकोसी नदी तथा अन्य खोलाहरू रावाखोला, सावाखोला, साप्सुखोला र अन्य जिल्लाभित्र बग्ने ठूला तथा साना खोलाहरूमा पानीको बहाव बढ्दै गइरहेको अवस्थामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम बढेकाले सजगता अपनाउन अनुरोध गरिएको छ । यो अवधिमा अत्यावश्यक परेको बाहेक रातको समयमा यात्रा नगर्न समेत आग्रह गरिएको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully