पूर्वमा प्रधानमन्त्री ओली : अस्पताल र पुल उद्‍घाटनदेखि धनीपुर्जा वितरणमा व्यस्त

असार २९, २०८२

पर्वत पोर्तेल

In the East, Prime Minister Oli: Busy with distribution of supplies since the opening of hospitals and bridges

विराटनगर — शनिबार दिउँसो झापाको चन्द्रगढी विमानस्थल ओर्लिएसंगै प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनयता झापा र इलाममा व्यस्त छन् । आगामी २०८४ को निर्वाचनको पूर्वसंकेत झल्किने गरी प्रधानमन्त्री ओली लगातार उद्घाटन समारोहमा सहभागी हुँदै पूर्वका विभिन्न ठाउँमा देखिएका हुन् । 

अस्पतालदेखि पुल, बाटोदेखि भूमिहीनलाई धनीपुर्जा वितरणसम्ममा प्रधानमन्त्री ओलीलाई उद्घाटनको रिबन काट्न भ्याइनभ्याइ छ । एकपछि अर्को आयोजना उद्घाटन गर्दै उनले विकास निर्माणप्रति सरकारको प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।

प्रधानमन्त्री ओलीले झापामा झन्डै आधा दर्जन ठूला सार्वजनिक आयोजनाको उद्घाटन वा शुभारम्भ कार्यक्रममा सहभागिता जनाए । विकासको भव्य प्रदर्शन र शक्ति प्रदर्शनकै शैलीमा उनले ग्रामीण पूर्वाधारदेखि सामाजिक न्यायका प्रतीक आयोजनामा रिबन काट्दै सरकारको विकासप्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याए ।

झापा ओर्लिनासाथ प्रधानमन्त्री ओली पहिलो कार्यक्रमका लागि बुद्धशान्ति गाउँपालिकाको वडानम्बर ३ पुगे । त्यहाँ उनले भागीरथा न्यौपाने अस्पतालको उद्घाटन गरे । पूर्वी नेपालककै प्रथम महिला प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको उक्त अस्पतालको उद्घाटन उनका दुई छोराहरू हरिप्रसाद र कुलप्रसाद न्यौपानेले गत असोज १० गते नै संयुक्त रूपमा गरिसकेका थिए । तर, ओलीले शनिबार फेरि सोही अस्पतालको रिबन काटे । अर्थात् एकै अस्पतालको दोस्रो पटक उद्घाटन भयो ।

In the East, Prime Minister Oli: Busy with distribution of supplies since the opening of hospitals and bridgesत्यसपछि प्रधानमन्त्री ओली कन्काई नगरपालिकातर्फ लागे । त्यहाँ आयोजित एक विशेष समारोहमा उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गरे ।

कार्यक्रममा धनीपूर्जा हातमा लिएर भावुक भएका सर्वसाधारणलाई सम्बोधन गर्दै ओलीले भने, ‘राज्यले तपाईंहरूको दुःखलाई देखेको छ । अब यो जमिन तपाईंहरूको कानुनी हक भएको छ ।’

कन्काईबाट ओली इलामतर्फ उक्लिए, माई नगरपालिकाको दानावारी तिर ।  उनले त्यहाँ नवनिर्मित नगर अस्पतालको उद्घाटन गरे ।  कार्यक्रममा उनले स्थानीय तहमा स्वास्थ्य सेवा अझ व्यवस्थित र सर्वसुलभ बनाउन सरकार दृढ प्रतिबद्ध रहेको बताएका थिए । आइतबार बिहानैदेखि प्रधानमन्त्री ओलीको झापामा व्यस्त दिनको सुरुवात भयो । पहिलो कार्यक्रम थियो दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपो सडकखण्डको उद्घाटन । तर, यहाँ ओली आफैंले होइन, दमक नगरकी उपप्रमुख रोजिना भट्टराईलाई रिबन काट्न लगाएर उद्घाटन गराए, अर्थपूर्ण इसाराझैँ ।

त्यसपछि प्रधानमन्त्री सिधा लागे दक्षिणी झापाको गौरीगन्जतिर । गौरीगन्जदेखि मोरङको आमबारी जोड्ने रतुवा नदीको पुल उद्घाटनमा सहभागी भए उनी । 

In the East, Prime Minister Oli: Busy with distribution of supplies since the opening of hospitals and bridgesहुलाकी राजमार्ग अन्तर्गत झापा र मोरङलाई जोड्ने यो बहुप्रतीक्षित पुल करिब एक दशकपछि बनेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले देश विकासको सन्देश दिँदै भने,‘खेतको छेउमै नदी बग्छ, तर किसानसँग पानी छैन । अब यस्तो अवस्था हटाउनु छ । कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण अपरिहार्य छ ।’

कार्यक्रममा ओलीले अबको १५ वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने दाबी गर्न पनि भ्याए ।  दुई दिनयता झापामा सार्वजनिक कार्यक्रमहरूमा देखिएको प्रधानमन्त्रीको सक्रियता धेरैले विकासप्रतिको प्रतिबद्धताका रूपमा लिएका छन् । तर, केहीले यसलाई राजनीतिक समीकरण र आगामी निर्वाचनको तयारीसँग पनि जोडेर हेरिरहेका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully