काठमाडौँ — उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
केन्द्रका लागि आर्थिक वर्ष वर्ष २०७६/७७ मा ‘हाई कम्प्युट इन्फास्ट्रक्चर’ सम्बन्धी उपकरण खरिद गर्दा करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित केन्द्रका ५ कर्मचारी, ठेकेदार कम्पनी र त्यसका प्रतिनिधिविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गुरुयोजनाबिनै मिलेमतोमा केन्द्रका पदाधिकारी तथा कर्मचारी र ठेकेदारको मिलेमतोमा ३० करोड ९९ लाख ९ सय ९९ रुपैयाँ लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरिएकामा १५ माघ २०७६ मा कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजार ७ सय ६३ रुपैयाँमा ठेक्का दिइएको थियो । तर गुणस्तरहीन उपकरण महँगोमा खरिद सम्झौता गरेको र सुरुमा तोकिएका सर्तविपरीतका उपकरण खरिद गरेर सरकारी सम्पत्ति हानिनोक्सानी गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिएको छ । कार्यालय प्रमुखका रूपमा कसुर गरेकामा पौडेललाई थप सजाय पनि मागदाबी गरिएको छ । अख्तियारले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध एकमुष्ट बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद मागदाबी गरेको छ । ठेकेदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन प्रालि र त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध पनि मुख्य कसुरदारसरह नै कैद र जरिवाना दाबी गरिएको छ ।
अख्तियारले केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वलीविरुद्ध एकल रूपमा बिगो कायम गरी कैद र जरिवाना मागदाबी गरेको छ । प्रतिवादी बनाइएका पाँचै कर्मचारीविरुद्ध यसअघि पनि केन्द्रको उपकरण खरिद प्रकरणमा अख्तियारले प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । केही धरौटीमा छुटेका र केहीले सफाइ पाएकामा तत्कालीन कार्यकारी निर्देशक पौडेल दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।
अख्तियारले २०८० मै पक्राउ गरी पौडेलविरुद्ध विभिन्न मितिमा आधा दर्जन मुद्दा विशेष अदालतमा दायर गरेकामा अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए ।
