तातोपानी नाकातर्फ पनि पूर्वाधार कमजोर

चीनबाट सामान ल्याउन समुद्रको बाटो भएर कोलकाता बन्दरगाह हुँदै तराईका नाका रोज्ने कि उत्तरतर्फको तातोपानी भन्नेमा व्यापारीहरू दोधारमा

असार २७, २०८२

ऋषिराम पौड्याल

The infrastructure towards Tatopani crossing is also poor

काठमाडौँ — चीनको केरुङतर्फ जोड्ने मितेरी पुलसहितको भौतिक संरचना बगाएपछि रसुवागढी नाका सञ्चालनमा आउन केही समय कुर्नुपर्ने भएको छ । अब चीनसँग स्थलमार्गबाट व्यापारिक कारोवार सञ्चालन गर्न सिन्धुपाल्चोकको तातोपानी एक मात्र विकल्प भएको छ ।

तर बर्सेनि बाढीपहिरोको जोखिममा पर्दै आएको तातोपानी भन्सार नाकाले स्थालमार्गबाट हुने व्यापारिक कारोबार थेग्न सक्ला त भन्ने प्रश्न पनि उब्जिएको छ । 

जीर्ण बन्दै गएको भौतिक संरचना र बाढीपहिरोको जोखिमका कारण तातोपानीमा निर्भर हुने अवस्था नभएको व्यवसायी बताउँछन् । वर्षायाम सुरु भएदेखि तातोपानीतर्फको सडक बेलाबेला बन्द हुँदै आएको छ ।

२०७२ को भूकम्पअघि तातोपानी नाका नै चीनसँगको प्रमुख व्यापारिक नाका थियो । भूकम्पले तातोपानीमा क्षति गरेपछि रसुवागढीमा व्यापारको चाप परेको थियो । तातोपानीबाट पनि व्यापार बिस्तारै सहज हुँदै गएको अवस्थामा रसुवाको नाका बन्द भएको छ । 

तातोपानीले चालु आर्थिक वर्षमा २१ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । तर उक्त लक्ष्य पुग्ने सम्भावना नरहेको भन्सारका अधिकारीहरू बताउँछन् । गत आर्थिक वर्षमा भन्सारले तातोपानीबाट सवा १३ अर्ब राजस्व संकलन गरेको थियो । चीनबाट विद्युतीय गाडी धेरै आउन थालेपछि चालु वर्षका लागि राजस्व लक्ष्य बढाइएको थियो । 

भूकम्पपछि चार वर्ष लगातार बन्द भएको तातोपानीबाट ०७६ देखि मात्र आयात व्यापार सञ्चालन भएको हो । नाका सञ्चालनमा आए पनि चीनले बेलाबेला अनेक बहानामा बन्दको सूचना पठाउने गरेको छ भने अर्कातिर बर्सेनि बाढीले सडक तथा पुलमा क्षति पुर्‍याउँछ । अरनिको राजमार्गको धुलिखेलदेखि दोलालघाट, बाह्रबिसे हुँदै तातोपानी सीमासम्मको जीर्ण सडक र पुलका कारण आवागमन सहज हुने गरेको छैन । गत वर्ष असोजको बाढीले सीमा नजिकै लिपिङ खोलाको एक पक्की र लार्चास्थित भोटेकोशीको बेलिब्रिज बगाएको थियो । अहिले दुवै स्थानमा बेलिब्रिज राखेर सवारीसाधन सञ्चालन गरिएको छ । ठूलो बाढी आउँदा ती पुल जोगिने निश्चित छैन । 

अरनिको राजमार्गको बाह्रबिसे–सीमा क्षेत्र तातोपानीसम्म २६ किमि सडकका ठाउँ–ठाउँमा वर्षायाममा पहिरो गइरहने समस्या छ । सीमा क्षेत्रको अन्तिम ६ किमि सडक सबैभन्दा बढी जोखिमपूर्ण छ । तातोपानी भन्सार अधिकृत सूर्य काफ्लेका अनुसार चालु आर्थिक वर्षमा सडकमा क्षति पुगेकै कारण ७५ दिन आवागमन बन्द भएको थियो । अरनिको राजमार्गको कोदारीमा सडक भासिएर पछिल्लो एक महिनामा चार पटक आउजाउ बन्द भएको छ । पछिल्लो पटक बिहीबार मात्र सडक भासिँदा यातायात पुनः ठप्प भएको छ । सडक अवरुद्ध भएपछि दर्जनौं कन्टेनर लिपिङमा रोकिएका छन् ।

तातोपानी भन्सार प्रमुख राजेन्द्र चुँडालका अनुसार तातोपानी नाकाको लिपिङ र भोटेकोशीमा जडान गरिएको बेलिब्रिजबाट २८ टनभन्दा बढी सामान बोकेका कन्टेनर आउजाउमा रोक लगाइएको छ । सडक र पुलको अवस्थाले आयात व्यापारको भार थेग्न कठिन हुने उनको भनाइ छ । चीन सरकारले लार्चामा निर्माण गरेको यार्डमा मुस्किलले एक सय कन्टेनर सामान मात्र व्यवस्थापन गर्न सकिने भन्सारले जनाएको छ । 

दसैं नजिकै भएकाले व्यापारीले चीन गएर सामान खरिद गर्न थालिसकेका छन् । तर समुद्रको बाटो भएर कोलकाता बन्दरगाह हुँदै तराईका नाका रोज्ने कि तातोपानी भन्नेमा उनीहरू दोधारमा परेका छन् । तातोपानीबाट १५ देखि २० दिनमा सामान काठमाडौं ल्याउन सकिन्छ । समुद्रको बाटो कोलकाता भएर वीरगन्ज, विराटनगर वा मेचीबाट सामान ल्याउन ४० देखि ४५ दिन लाग्छ । भारतको विशाखापटनम बन्दरगाह प्रयोग गरेर पैठारी गर्नेहरूको सामान भने वीरगन्जको सुक्खा बन्दरगाहमा आउने गरेको छ । 

चीनमा सामान अर्डर गरेर फर्केका व्यवसायी निर्प अधिकारीले तातोपानी नाकामा पनि कति बेला के होला भन्ने त्रास रहेको बताए । ‘पैठारी गर्न सजिलो त तातोपानीबाट हो तर फेरि गत वर्षहरूको जस्तै बाढीपहिरो आयो भने समस्या हुन्छ,’ उनले भने । नेपाल हिमालय सीमापारका पूर्वमहासचिव तथा व्यापारी नवराज तिमिल्सिना समुद्रको बाटो र तातोपानी दुवै प्रयोग हुने बताउँछन् । ‘तातोपानी भरपर्दो नभएकाले केही व्यापारीले कोलकाताबाट पैठारी सुरु गरेका छन्,’ उनले भने ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully