विश्व सम्पदाको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी

एक वर्षलाई टर्‍यो जोखिम

असार २७, २०८२

मनोज पौडेल

Lumbini has been removed from the list of potentially endangered world heritage sites

लुम्बिनी — विश्व सम्पदास्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा भइरहेको युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले संरक्षणमैत्री र सुधारका काम भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ ।

यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने सेसनमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए । यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो । 

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावले तत्काललाई खतराको सूचीमा समावेश भएको थिएन । तर, त्यहाँ लुम्बिनीका विषयमा भएको छलफलमा नेपालले राखेका प्रस्ताव, उठेका विषय, जिज्ञासा र आएका सुझावलाई समेटेर युनेस्को वर्ल्ड हेरिटेज कमिटीले फ्रान्सस्थित नेपाली दूतावासमार्फत १२ बुँदे निर्णय र निर्देशन पठाएको थियो ।

यी बुँदालाई आत्मसात् गरेर सुधार, संरक्षण, कानुनी स्पष्टता र नीति निर्माण गरेर एसओपी रिपोर्ट पेस गरिँदा सकारात्मक निर्णय भएको लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए । ‘सब कुरालाई समेटेर काम गरेका छौं,’ उनले भने, ‘यसले राम्रो परिणाम दिएको छ । अब संरक्षणमैत्री कामलाई निरन्तरता दिने छौं ।’ 

लुम्बिनीका सम्पदाको संरक्षण र व्यवस्थापन गर्न एकीकृत व्यवस्थापन संरचना (इन्टिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क) निर्माण र त्यसलाई कार्यान्वयन गर्न विश्व सम्पदा क्षेत्रमा विभिन्न सेक्टर स्ट्रयाटेजी (खण्डित रणनीतिक योजना) बनाएर काम थालेपछि युनेस्कोले सकारात्मक रूपमा लिएको छ । पाँच विषयमा पुरातत्व, भिजिटर व्यवस्थापन, प्राकृतिक प्रकोप, स्थानीय विकास र बौद्ध समुदायलाई समेटेर सेक्टर स्ट्रयाटेजी बनाइएको हो ।

आईएमएफ समग्रमा अवधरणा दिने नीति हो भने सेक्टर स्ट्रयाटेजी काम गर्ने योजना हो । त्यस्तै अशोक स्तम्भ, मार्कर स्टोन (चिनो ढुंगा) र नेटिभिटी स्कप्चर्सको संरक्षण, सरसफाइ र सिपेज हुन नदिन उपकरण र प्रविधि प्रयोग गरेर काम थालेपछि युनेस्कोले राम्रो मानेको छ । मायादेवी मन्दिरमा रंगरोगन, पंखा, बिजुली र बत्ती लगाएर राम्रो बनाइएको छ । सम्भावित खतराको सूचीबाट जोगाउन गहन, विस्तारित र नतिजामुखी योजना बनाएर काम गर्न आग्रह गरिएको थियो ।Lumbini has been removed from the list of potentially endangered world heritage sites

लुम्बिनीको अद्वितीय विश्वव्यापी महत्त्वलाई जोगाउन धेरै मिहिनेत गरेर युनेस्कोले मागेका कुरा प्रतिबद्धतामा मात्र नभएर फिल्डमा पनि त्यसै अनुसारको इम्पिलिमेन्टेसन गरेपछि अहिलेको सकारात्मक परिणाम आएको कोषका वरिष्ठ निर्देशक राईले बताए । ‘लुम्बिनीलाई सम्भावित खतराको सूचीबाटै जोगाउन विज्ञ विशेषज्ञ बोलाएर वर्ल्ड हेरिटेज इन्टरनेसनल कन्फरेन्स गरियो । यो निकै सकारात्मक र प्रभावकारी रह्यो,’ उनले भने । 

युनेस्कोले गरेका पुराना सिफारिस पनि माइन्युटली अध्ययन गरी उनीहरूको चित्त दुखाई केमा हो भनेर विश्लेषण गरेर एसओसी (स्टेट अफ कन्जभेसन रिपोर्ट) पठाएकाले परिणाम सुखद आएको कोषका सचिव शाक्यले बताए । त्यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय विशेषज्ञ, मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर रिपोर्ट तयार गरिएकाले पनि राम्रो प्रभाव परेको उनले बताए । 

पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समाप्त हुनेछ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully