'बाढी आएपछि २३ जना भीरको ओडारमा गएर बस्यौं'

असार २७, २०८२

विमल खतिवडा

'After the flood, 23 of us went and sat in the Bhir's den'

टिमुरे (रसुवा) — मंगलबार बिहान आएको भोटेकोशीको बाढीले बढी क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ । रसुवागढीमा रहेको ड्याम बाढीले क्षतविक्षत बनाएको छ । त्यस्तै, टिमुरेमा रहेको आयोजनाको आवास क्षेत्र बाढीले डुबेको छ । ८ वटा हाइलक्स गाडी बाढीमा फसेमा छन् ।

अहिले आवास क्षेत्र जान बाटो छैन । ड्यामको सुरुङ सुरक्षित छ । यहाँ मंसिरबाट विद्युत् उत्पादन सुरु भएको हो । पुस १६ गतेबाट व्यापारिक उत्पादन थालिएको हो । यो निरन्तर उत्पादनको क्रममा थियो । बाढीका बेला रसुवागढी जलविद्युत् आयोजनाको आवास क्षेत्रमा बसेका सिभिल इन्जिनियर गुल्मीका यमबहादुर दर्लामीले भागेर ज्यान जोगाएको अनुभव यसरी सुनाएका छन् :  

सुतिरहेका बेला बिहान ३ बजेर १५ मिनेटमा भूकम्प आए जस्तो लाग्यो । एकदम हल्लायो । सबैजना डरले उठ्यौं । कसैले कसैलाई उठाएको होइन । हामी २३ जना थियौं । जसमा दुईजना महिला हुनुहुन्थ्यो । सबै इन्जिनियर थियौं । हाम्रो आवासीय ठाउँ यहीँ थियो । जस्तो सुतेका थियौं, त्यस्तै भाग्यौं । केही झिक्नबोक्न सकेनौं । भीर चढेर ज्यान जोगायौं ।

आवास क्षेत्र र ड्याम ध्वस्त भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भीरमा बसेका बेला फोन गर्नुभएको थियो । हामी भीरको ओडारमा बसेका थियौं । बीचमा धेरै हेलिकोप्टर आए । कैलाश मानसरोवरको रिजर्भ रैछ । त्यसरी आएको हेलिकोप्टरले उनीहरुलाई नै ओसारपोसर गरीरह्यो ।

यहीबीच नेपाली सेनाको हेलिकोप्टर रेकी गर्न आयो । हामीलाई हेरेर गयो । त्यसपछि मंगलबार पौने १ बजे भीरमा फसेका हामी २३ जनालाई पालैपालो गरेर ६ पटकमा सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । त्यसपछि ज्यान जोगियो । भोक लागेको थियो । पिउने पानी पनि थिएन । तिर्खा सहेरै बस्यौं । लुगा पनि पूरा लगाएका थिएनौं ।

यहाँ ८ वटा हाइलक्स गाडी बाढीले पुरेको छ । ल्यापटप, लुगा, महत्वपूर्ण कागजात पनि पुरिएको छ । माथि ओडारमा पुग्नासाथ सुरुमै परिवारलाई म सुरक्षित छु, पीर नगर्नु भनेर जानकारी गराए । त्यसपछि अहिलेसम्म नेटवर्क नहुँदा फोन सम्पर्क हुन सकेको छैन । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully