काठमाडौँ — राजधानीको एक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको ज्यान गएको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
असार १७ गते साँझ पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन नौ तले पक्की घरको लिफ्ट बनाउन खटिएका मजदुर लिफ्ट नै भुईँमा खस्दा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा पाँचौँ तलासम्म पुगेपछि अचानक फलामको सिक्री चुँडिएको थियो। 'हामीले प्रारम्भिक अध्ययन सकेका छौँ,' जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी अपिलराज बोहराले भने, 'परिवारको उजुरीका आधारमा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। भवितव्य दुर्घटना हो कि के हो? त्यो कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ।'
घटनापछि ठेकेदार र मृतक परिवारले आन्तरिक रूपमा सहमति गरेर शव बुझेका थिए। एक प्रहरी अधिकृतका अनुसार बिमाबापतको रकम र मृतक परिवारले मागेका बमोजिमको रकम दिने सहमति भएपछि परिवारले शव बुझेका थिए।
लिफ्टबाट खसेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लगिएको वीर अस्पतालले सोही दिन साँझ ५:१० बजे मृत घोषणा गरेको थियो।
