कैलाश मानसरोवर गएका तीर्थयात्री तातोपानी नाका हुँदै फर्कँदै

असार २६, २०८२

अनिश तिवारी

Pilgrims who went to Kailash Mansarovar returning through Tatopani Naka

सिन्धुपाल्चोक — गत मंगलबार गएको बाढीले रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द भएपछि कैलाश मानसरोवर तीर्थयात्रा सकेर फर्किरहेका गैरआवासीय भारतीय (एनआरआई) तीर्थयात्री तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन्।

रसुवा नाकाबाट असारको सुरुतिर चीन प्रवेश गरेका तीर्थयात्री मंगलबारको बाढीले टिमुरे–केरुङ सडक सम्पर्क विच्छेद भएपछि तातोपानी नाका हुँदै नेपाल फर्किन थालेका हुन्। कैलाश मानसरोवर जान चीन सरकारले रसुवा–केरुङ नाका खुला गरे पनि बाढीले मार्ग अवरुद्ध भएपछि उनीहरूलाई वैकल्पिक मार्ग हुँदै ल्याइएको हो।

तातोपानी कोदारी अध्यागमन कार्यालयका प्रमुख कृष्ण खनालका अनुसार बुधबार मात्रै १९८ जना तीर्थयात्री नेपाल फर्किएका छन्। मंगलबार मनाङ एयरका चारवटा हेलिकप्टरमार्फत ७२ जनालाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो। बाँकी ६४ जना पर्यटकलाई बसमार्फत सोही नाकाबाट काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी किरणा थापाले भारतीय मूलका अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया र सिंगापुरका नागरिकताधारी गैरआवासीय भारतीयहरू तातोपानी भएर फर्किएको जानकारी दिए। ‘बाह्रबिसे–कोदारी सडक जीर्ण भएको कारण अधिकांश यात्रुहरू हेलिकप्टरमार्फत काठमाडौं पुर्‍याइएको हो,’ उनले भने। चिनियाँ अध्यागमनको सूचनाअनुसार अझै ठूलो संख्यामा तीर्थयात्री तातोपानी नाका हुँदै फर्कन बाँकी छन्।

राजस्व बढ्ने अनुमान

उता भोटेकोसी बाढीको चपेटामा परेर रसुवा नाका बन्द भएकाले सबै कन्टेनर तातोपानी हुँदै आउनेक्रम बढेको छ। तातोपानी सुक्खा बन्दरगाहका राजेन्द्रप्रसाद चुडालका अनुसार रसुवा नाका बन्द भएपछि सबै सामान तातोपानी भएर आउँदै छन्। सडक नियमित भए वार्षिक लक्ष्य सहजै पूरा हुने उनले बताए।

‘वार्षिक २१ अर्ब राजस्व संकलनको लक्ष्य राखिएको तातोपानी भन्सारले हालसम्म करिब १९ अर्ब राजस्व संकलन गरिसकेको छ,’ उनले भने। यसअघि कोदारी सडकको जीर्ण अवस्था र प्राकृतिक विपत्तिका कारण तीन महिना राजस्व संकलन प्रभावित भएको काफ्लेले जानकारी दिए।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully