काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी हुन गएका केही नेपाली नफर्किएको बताएकी छन् । आफूले बोलेको विषयको अपव्याख्या गरिएको पनि गौतमको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको कार्यक्रममा सांसद गौतमले प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका नभई अन्य संघ, संस्थाबाट सहभागी भएका नेपालीहरू नफर्किएको बताएकी हुन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आफूले बोलेका कुराको प्रधानमन्त्रीको सचिवालय र सत्तापक्षका सांसदले अपव्याख्या गरेको गौतमको भनाइ थियो । सत्तापक्षका सांसदले आफ्नो भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेकोप्रति पनि उनले आपत्ति जनाएकी थिइन् । 'सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि ? मैले भनेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भन्ने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस् ।
मैले बोलेको विषयको म पूर्ण जिम्मेवारी लिन्छु,' उनले भनिन्, 'यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल भ्रमण टोली, सबै कार्यक्रम सकेर नेपाल आउनुभयो । तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बाहानामा गएका छन् र फर्किएका छैनन् ।'
सांसद गौतमले प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा सयौं नेपाली विभिन्न संघ र संस्थाबाट गएको पनि बताइन् । 'सयौँ एनजीओहरूका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौँ मान्छे सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो,' उनले भनिन्, 'मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग सुन्नुहोस् ।'
प्रधानमन्त्री गएको कार्यक्रममा केही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको उनको भनाइ थियो ।
रास्वपा निरन्तर भिजिट भिसाको दुरूपयोग गरी मानव तस्करी गर्ने/गराउने कार्यका विरुद्ध संसद्मा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको गौतमले बताइन् ।
सरकारले रास्वपाले गरेको माग नसुनेको बताउँदै सांसद गौतमले नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा समिति गठन गरेको उनले बताइन । 'आफूमातहतकै आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ, यसकै विरोधमा हाम्रो कुरा नसुनेका कारण हामी संसद् बहिष्कार गरिरहेका छौँ,' उनले भनिन् ।
