प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका केही व्यक्ति फर्किएनन् : सांसद गौतम

असार २४, २०८२

कान्तिपुर संवाददाता

Some people who went to the Spanish program attended by the Prime Minister did not return: MP Gautam

काठमाडौँ — रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसद्‌को ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा गौतमले भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने निकृष्ट कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित रास्वा सदनमा विरोधमा रहेको प्रसंग जोड्दै भनिन्, 'यो कार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र मात्र होइन विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोहसँग पनि जोडिने विषय हो ।' 

नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भीर वियषमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर सरकारले स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा समिति बनाएको उनको भनाइ छ । 'आफू मातहतको आफूभन्दा कनिष्ठ कर्मचारी सम्मिलित एउटा सामान्य टालटुले प्रशासनीय समिति विषयमा रास्वपाको विरोध निरन्तर छ,' उनले भनिन्, 'नागरिक बेचिनु कसैको गलत कार्यका कारणले देशको छवि घट्नु सामान्य विषय होइन, उच्च स्तरीय छानबिन समिति अनिवार्य बन्नैपर्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully