देशभरका अस्पतालमा आज पनि आकस्मिकबाहेक सेवा बन्द

असार २४, २०८२

कान्तिपुर संवाददाता

Hospitals all over the country are still closed except for emergencies

काठमाडौँ — नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सम्पूर्ण सेवा आज पनि बहिष्कार गरेका छन् ।

सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो । सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा ‘क्लिनिक’ले पनि ऐक्यबद्धता जनाएका छन् ।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलन जारी राखेको जनाएको छ । सङ्घका अनुसार हालसम्म सरकारबाट कुनै सार्थक पहल नदेखिएकाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घले विरोध जनाउँदै आएको हो । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । 

'उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा स्वास्थ्य तथा चिकित्सकीय सेवालाई अन्य सेवासँग एउटै परिप्रेक्ष्यमा राखिएको छ,' चिकित्सक सङ्घका महासचिव डा सञ्जीव तिवारीले भने, 'चिकित्सा अभ्यासलाई नियमन गर्ने सम्पूर्ण अधिकार नेपाल मेडिकल काउन्सिलसँग रहेको र त्यहीँबाट नियमनको प्रक्रिया चल्नुपर्ने हो ।' 

सङ्घले आज काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई माइतीघरमा र उपत्यकाबाहिरका सहभागीहरूलाई सम्बन्धित प्रदर्शनस्थलमा धर्नामा सहभागी हुन आग्रह गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully