काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद्मा एक जनाले बोले मात्र पनि उसको विचार सुन्नुपर्छ भन्ने विपीको विचार कांग्रेसले बेचिसकेको भान भएको बताए ।
भिजिट भिसा दुरुपयोग प्रकरणबारे उच्चस्तरीय छानबिनको माग गर्दै आफूहरूले लामो समयदेखि आन्दोलन गरिरहे पनि सरकारले सुन्न नचाहेको उनको भनाइ छ।
उनले आफूहरूले सरकार विरोधी होइन, मानव बेचबिखनविरुद्धको आन्दोलन गरिरहेको बताउँदै आफ्ना मागहरू सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘नेपाली कांग्रेसको सरकार छ भनिए पनि मलाई लाज लागेर आयो। किनभने प्रजातान्त्रिक सरकार हो, प्रजातन्त्रको ओकलत गर्छौँ भन्नेहरूले संसद्मा एक जना मात्रै छ भने पनि उसको आवाज सुन्नुपर्छ भन्ने विपी कोइरालालाई कांग्रेसले बेचिसकेको जस्तो लाग्यो। किनभने हामीले कैयौँ दिनदेखि संसद्मा भिजिट भिसा प्रकरणबारे आवाज उठाइरहेका छौँ। सरकारले सुन्न खोजिरहेको छैन। यो हामीले सरकारविरुद्ध गरेको गतिविधि होइन, यो हाम्रो मानव बेचबिखनविरुद्धको अभियान हो। यो संसदमात्र होइन, सडकबाट पनि हुन्छ, याद राख्नुस्। भोलि तपाईँकै मतदाताले सोध्नेछन्— भिजिट भिसाका कति पैसा कुम्ल्याउनुभयो? भनेर के जवाफ दिनुहुन्छ? त्यसकारण संख्याका आधारमा नभई अपराधका आधारमा छानबिन समिति बनोस्।’
उनले भिजिट भिसा दुरुपयोग छानबिन समिति संख्याका आधारमा नभई अपराधको प्रकृति अनुसार गठन हुनुपर्नेमा जोड दिए।
