काठमाडौँ — उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलनमा : इमर्जेन्सीबाहेकका सेवा बन्द, 'कुलिङ अफ पिरियड' मा छलछाम : छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन, सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त, 'ब्रिक्स'देखि झस्किए ट्रम्प : १० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी, अमेरिकालाई हराएर मेक्सिको कनकाकेफ च्याम्पियनसम्मका खबर आज दिनभर देश दुनियाँमा चर्चामा रहे । आज दिनभर के के भयो त ?
उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । संघको आह्वानमा सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेका छन् ।
०००
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् ।
०००
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरूलाई १० प्रतिशत अतिरिक्त शुल्क लगाउन सक्ने चेतावनी दिएका छन् । ब्रिक्सको 'अमेरिका विरोधी नीति' लाई समर्थन गर्ने मुलुकलाई अतिरिक्त शुल्क लगाउने चेतावनी ट्रम्पले दिएका छन् ।
०००
मेक्सिकोले अमेरिकालाई सोमबार २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जितेको छ । मेक्सिकोले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर कीर्तिमान १० औं पल्ट उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जितेको हो ।
