काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनाव अगाडिनै कांग्रेसको महाधिवेशन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन्।
कांग्रेसको महाधिवशन आम निर्वाचनपछाडि कि अगाडि भन्ने बहस चलिरहेका बेला महामन्त्री थापाले सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै अब बस्ने केन्द्रीय कार्यसमितिले महाधिवेशनको क्यालेन्डर ल्याउने बताएका हुन्। उनले १५ औं महाधिवेशन नयाँ उर्जाका साथ गरिने बताए।
‘हामी यो बीचमा अरू कार्यक्रमहरू गर्छौं। भातृ संस्थाको अधिवेशन गर्छौं। शुभेच्छुक संस्थालाई सम्हाल्छौं। पार्टीको सबै साथीहरूलाई जिम्मेवारी पनि दिन्छौँ। यो बीचमा नयाँ अभियानहरू पनि गर्छौं। पार्टीका साथीहरू सबैलाई मिलाएर पार्टीलाई थप प्रभावकारी बनाउँछौं,' थापाले भने, ‘सरकारलाई पनि थप प्रभावकारी बनाउँछौं ।’
उनले महाधिवेशनसम्म महामन्त्रीको हिसावले आफू जिम्मेवारी सम्हाल्ने र त्यसपछि के हुने भन्नेबारेमा १५ औं महाधिवेशनलाई जिम्मा दिने बताए। ‘पन्ध्रौं महाधिवेशनसम्म के हुन्छ? कसरी जान्छ? म कुनै बेला नेपाल विद्यार्थीको अध्यक्ष भनेर हिँडेको मान्छे, मलाई प्रदीप पौडेलले फकाए र म नेविसंघको अध्यक्ष छोडेर क्षेत्रको सभापति बसें। त्यसपछि महामन्त्रीको चुनाव लडेँ। अब यो अधिवेशनमा के हुन्छु भन्ने कुरा पछिको कुरा भयो, यसलाई पन्ध्रौं महाधिवेशनसम्म छाडिदिने हो,' थापाले भने, ‘अहिले खाली के सोच्ने हो भने पन्ध्रौं महाधिवेशनसम्मको हामी जिम्मेवारीमा छौं, यो जिम्मेवारी पूरा गर्दछौं, यो जिम्मेवारीको कुरा गर्दै गर्दा सबैको साथ सहयोग चाहिएको छ। कतै केही कमजोरी भएका छन् भने म क्षमा चाहन्छु।’
