काठमाडौँ — सोमबार मध्याह्न १२ बजेतिर हतारहतार राष्ट्रिय ट्रमा सेन्टरमा काउन्टरमा पुगिन्, थानकोटकी लक्ष्मी श्रेष्ठ ।ढाडको समस्याले अस्पताल आएकी उनले अचानक ओपीडी सेवा बन्द रहेको थाहा पाइन् । किनकि यसअघि उनलाई कुनै जानकारी थिएन ।
‘यो त एकदमै नराम्रो भयो नि । अस्पतालको सेवा यसरी ठप्प पारेर हुन्छ त ?' उनले प्रश्न गरिन्, 'म त नजिकैबाट आएँ तर टाढाबाट आउने बिरामीलाई कति गाह्रो भयो होला ?'
ओखलढुंगाबाट आएका कुलबहादुर सार्की वीर अस्पताल नजिकैको चमेनागृहमा चुपचाप बसिरहेका थिए । ओपीडी बन्द भएपछि के गर्ने के नगर्ने, उनी अन्योलमा रहेछन् । ‘शुक्रबार गाडी चढेर आएँ,’ मलिन अनुहार बनाउँदै उनले भने, ‘सिस्टरहरुले बिहीबार आउनु भन्नुभएको छ । सुगर, प्रेसर, पत्थरीसँगै मुटुमा पनि मेरो समस्या छ ।’ 
अस्पताल खुलुन्जेलसम्म कहाँ बस्ने के खाने चिन्तामा उनी छन् । उनी भन्छन्, 'अस्पताल नै बन्द छ कहाँ जानु ।'
आज फलोअपका बोलाएकाले न्युरोडका करेन्द्र शाह बिहानै वीर अस्पताल आइपुगेका थिए । तर, उनले चिकित्सकसँग भेट्न पाएनन् । ‘दाँतको सर्जरी गरेको थिएँ, टाका खोल्नुपर्ने भएकाले आएको, दु:ख पाइयो,’ शाहले भने, ‘अस्पताल नै बन्द रहेछ । नौ महिनादेखि यहीँकै चिकित्सकबाट उपचार गर्दै आएको छु अन्यन्त्र जाने कुरा पनि भएन ।’
नेपाल चिकित्सक संघको आह्वानमा मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द हुँदा त्यसको सास्ती काठमाडौं छाउनीकी प्राश्ना कँडेलले पनि भोग्नुपर्यो । उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्नेछ । ‘सुगर देखिएपछि चिकित्सकले आज सुगरको रिपोर्टसहित फलोअपका लागि बोलाउनुभएको थियो,’ उनले भनिन्, ‘लामो समयदेखि उपचारको पर्खाइमा रहेका हामीजस्ता बिरामीलाई आन्दोलनले निकै मर्का परेको छ ।'
अस्पताल परिसरमा भेटिएका अरु बिरामी पनि आन्दोलनको असर अस्पताल र बिरामीलाई पर्न नहुने बताउँछन् ।सरकारले चिकित्सकको माग पूरा गरेर र हुन्छ कि बिरामीलाई विकल्प दिएर हुन्छ, सेवा सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघले सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा ठप्प पारेको छ । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेपछि उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
उपचारमा लापरबाही भएको भन्दै गत असारमा एक महिलाले गरेको उजुरीमा ग्रान्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको थियो । चाबहिलस्थित ओम अस्पताललाई पनि ५० लाख ७० हजार र उपचारमा भएको लापरबाही मुद्दामा चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश दिएको थियो ।
त्यस्तै उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै हिमाल हस्पिटल र बिरामीको उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर गर्दै अस्पताल र चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला आएको थियो । अस्पतालले ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सकले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला छ ।
अदालतको यस्तो फैसलाविरुद्ध संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ ।मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलबाट लिएको प्रमाणपत्र काउन्सिलमा लगेर बुझाउने कार्यक्रम छ ।
