काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन्।
मानवअधिकार तथा शान्ति समाजले आज आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभूति आम नागरिकमा गराउन जरूरी रहेको बताए।
राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए। उनले सामाजिक न्यायको लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्त्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।
सो कार्यक्रममा शान्ति समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सामाजिक न्यायका अभियानकर्मी एवं पूर्व राजदूत पदम सुन्दासलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेललगायतले समाजका गतिविधिका बारेमा प्रकाश पारेका थिए।
