काठमाडौँ — नेकपा एसको केन्द्रीय सचिवालयको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । आइतबार बसेको बैठकमा पार्टीका नेताहरूले बोल्ने क्रम सकिएपछि बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्न मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।
आइतबारको बैठकमा पार्टीको तर्फबाट सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता वेदुराम भुसाल, महासचिव घनश्याम भूसाललगायतका नेताहरूले समसामयिक राष्ट्रिय राजनीति, संगठन निर्माणलगायतको विषयमा आफ्ना विचार राखेका छन् ।
ज्वालाका अनुसार बैठकमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको विषयमा कुनै छलफल नभएको पनि बताए । ‘कुनै व्यक्ति विशेषको बारेमा हाम्रो बैठकमा एजेन्डा बनेको छैन । पार्टी सचिवालयको बैठकमा राष्ट्रिय राजनीति, समसामयिक विषयवस्तुमा, आन्दोलनका विषयमा, संगठनात्मक विषयका एजेन्डा छन्,’ उनले भने ।
उपाध्यक्ष ज्वालाले बैठकमा सरकारको कार्यसम्पादनको विषयमा पनि छलफल भएको बताए । उनले सरकारसँग जनता अत्यन्त निराश र केही अपेक्षा पनि नराखेको टिप्पणी गरे ।
