वितेको ७५ वर्षमा कोहीपनि प्रधानमन्त्री लगातार पाँच वर्ष टिक्न सकेनन्, संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउनु जरुरी छ
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारका लागि अहिले भइरहेको प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा उनले पाँच बुँदे प्रस्ताव समेत पेश गरेका छन् ।
उनले भनेका छन, ‘वितेको ७५ वर्षमा कोहीपनि प्रधानमन्त्री लगातार पाँच वर्ष टिक्न सकेनन्, संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउनु जरुरी छ, त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ ।’
शर्माले अघि सारेको पहिलो विकल्पमा आम निर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने विषय समेटिएको छ । जसमा दोस्रो वा तेस्रो दल पुरै अवधि सरकार बाहिर वा विपक्षीमा बस्ने भन्ने कुरा समेटिएको छ ।
उनले प्रस्तुत गरेको दोस्रो विकल्पमा पहिलो हुने दललाई सामान्य बहुमत नपुगेको स्थितिमा 'विनर्स टेक अल' (जित्नेले सबै लग्ने ) सिद्धान्त बमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएका बिज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने रहेको छ ।
शर्माले तेस्रो विकल्पमा पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने, प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने विषय उल्लेख छ ।
चौथो बुँदामा त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसदमा विश्वासको मत लिने, दुईवर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन विश्वासको मत लिने, पछिल्लो पटक विश्वासको मत लिँदा दुईवर्षे कामको निश्चित आर्थिक, सामाजिक सुचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने / नपाउने टुंगो लाग्ने र विश्वासको मत पुनः प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने व्यवस्था राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।
अन्तिम तथा पाँचौ बुँदामा प्रधानमन्त्री पदमा कुनैपनि व्यक्ति दुई पटक मात्रै बन्न सक्ने प्रस्ताव उनले अघि सारेका छन् ।
