समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँ : कृषिमन्त्री अधिकारी

असार २२, २०८२

रासस

We are going to make a law to deliver fertilizers and seeds on time: Agriculture Minister Adhikari

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र बीउ पुर्‍याउन आफूहरु लागेको बताएका छन्। 

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा रासायनिक मलका विषयमा भएको छलफलका क्रममा उनले प्रत्येक वर्ष मलको समस्या दोहोरिने गरेकाले त्यस्तो अवस्था नल्याउनका लागि कानुन नै निर्माण गर्न लागेको बताए। रासायनिक मल खरिद गर्ने संस्था नै फरक स्थापना गरिनुपर्नेमा पनि मन्त्री अधिकारीले जोड दिए।

रासायनिक मल खरिद गरेर ल्याउन २५० दिनभन्दा बढी लाग्ने भएकाले १५९ दिनमा झार्ने गरी निर्देशिका संशोधन गर्न लागिएको उनले बताए। एउटा वडाको मल अर्को वडामा जान १२० दिन लाग्ने गरेकाले छिटो जाने गरी व्यवस्था गर्न लागिएको पनि उनले बताए। तराईमा १० र पहाडमा १५ दिनमा एउटा वडाको मल अर्को वडामा जाने गरी व्यवस्था गरिने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।

समिति सभापति अब्दुल खानले साल्ट ट्रेडिङ कर्पोरेशनले मलको कोटाका सम्बन्धमा दिएको निवेदनका आधारमा बैठक डाकिएको जानकारी दिए। बैठकमा सांसदहरु गणेश पराजुली, सूर्यमान तामाङ, मङ्गलप्रसाद गुप्ता, रणेन्द्र बराइली, महेन्द्रबहादुर शाही, सीता मिजार, रमा कोइराला पौडेल, रेखा यादव, हेमराज राईलगायतले प्रत्येक वर्ष खेती लगाउने बेलामा मलको अभाव हुने गरेकाले समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए। 

कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले जेठ १५ गतेको बजेटकै आधारमा वर्षभरलाई मल आपूर्ति गर्न नसकिने बताए। कूल ७० हजार टन युरिया मल अहिले पनि मौज्दात रहेको उनले बताए। मल र बीउको डेडिकेटेड संस्थाका रूपमा कृषि सामग्री कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि सचिव शर्माले दिए।

रासस

Link copied successfully