काठमाडौँ — राप्रपा सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको भन्दै व्यंग्य गरेकी छिन् । आइतबार बिहान सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताएकी हुन् ।
'हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ,' उनले भनिन् ।
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको छ । छलफलमा भाग लिँदै सांसद कार्कीले भनिन्, 'यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । हामी प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस् । हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।'
