सभापति, महामन्त्री उठ्ने भनेका नेताकै जिल्लामा क्रियाशील नवीकरण भएको छैन : नेता रसाइली

असार २२, २०८२

कान्तिपुर संवाददाता

There has been no active renewal in the district of the leader who said that the president, the general minister will rise: Leader Rasaili

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले सभापति, महामन्त्री उठ्ने भनेर महाधिवेशन मागिरहेका नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता नवीकरण नभएको बताएका छन्।

उनले केन्द्रीय महाधिवेशन समयमा हुनुपर्छ भन्ने नेताहरूले आफ्नो जिल्ला र क्षेत्रको सदस्यता नवीकरणमा सामान्य सहजीकरण गर्न पनि नसघाउनु अस्वभाविक भएको बताए।

आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता रसाइलीले भने, 'पार्टीका शीर्ष नेताहरूकै जिल्ला/क्षेत्रमा सदस्यता नवीकरण भएको छैन। ८/१० जना सभापतिका उम्मेदवार हुनुहुन्छ। महामन्त्रीका उम्मेदवार पनि त्यस्तै हुनुहुन्छ। सबैलाई महाधिवेशन चाहिएको छ। सदस्यताका कारण महाधिवेशन रोकिनुहुँदैन भनेर उहाँहरूले नै भनिरहेको छ। तर उहाँहरूकै आफ्नै जिल्ला र क्षेत्रमा सदस्यता नवीकरण भएको छैन। नवीकरण गर्न, गराउन उहाँहरूको भूमिका देखिएको छैन। यसले प्रश्न उहाँहरूतिरै तेर्सिएको छ।'

उनले आफ्नै जिल्लामा व्यवस्थापन नगर्ने र पार्टीको महाधिवेशन समयमा गर्न नखोजेको भनेर आरोप लगाउने कुरा मेल नखाने बताए। नेता रसाइलीले पार्टीले अनुशासनको नाममा कारबाही गर्दा सबैलाई एकै विधि र मापदण्डबाट कारबाही गर्नुपर्ने माग गरेका छन्। गुट हेरेर कसैलाई जोगाउने र कसैलाई कारबाही गर्ने कुरा व्यवहारिक नहुने बताए।

'अनुशासनको नाममा मनपरी गर्न मिल्दैन। नेताको स्वार्थ हेरेर अनुशासनको डण्डा चलाउने कुरा स्वीकार्य छैन। सबैलाई एकै मापदण्डबाट हेरिनुपर्छ। कसैलाई फुटबलको नियम, कसैलाई भलिबलको नियम लगाएर अनुशासनको तराजुमा तौलिन मिल्दैन, ' उनले भने। 

कान्तिपुर

Link copied successfully