देशभरका भूमिहीनलाई ०८४ सम्म लालपुर्जा वितरण भइसक्छ : अर्थमन्त्री पौडेल

असार २२, २०८२

सन्जु पौडेल

Lalpurja will be distributed to the landless all over the country by 084: Finance Minister Paudel

तिलोत्तमा — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ सम्म देशभरका सबै भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरिरहेको बताएका छन्। उनले प्रधानमन्त्रीबाट  स्पष्ट निर्देशन भए अनुसार ०८४ सम्म यो काम सक्ने गरी सम्बन्धित निकाय सक्रिय भएर लागेको बताए।

आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ का ४ सय ५१ जना स्थानीयलाई जग्गा धनीपूर्जा वितरण गर्दै उनले जग्गा धनीपूर्जा पाउनेबारे सबै जनता ढुक्क भएर बस्न आग्रह गरे। ‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ,' उनले भने, 'अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ।'

उपप्रधानमन्त्री समेत रहेका पौडेलले आफूहरूले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाइएको जनाए । ‘हामीले निर्वाचनको बेला भनेका थियौँ कि सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुनेछ, त्यो बेला भावनात्मक रूपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ।'

मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुत रूपमा काम गरेको र यसको परिणाम देखिरहेको जनाए।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully