काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायु सेवालाई व्यवस्थापन गर्न करार वा सेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् ।
आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि छलफलमा भाग लिँदै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताएका हुन् ।
सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने उनको भनाइ छ । 'वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री गरिने छैन भनेर यो प्रस्तावना ल्याउनुपर्छ । त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा । अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठीक भएन । त्यसमा सचेत हुनुपर्छ,' उनले भने ।
सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउनेझैँ विधेयक ल्याइएको भन्दै यो ठीक नभएको बताए ।
