सुशासन, मितव्ययिता र चालु खर्चलाई घटाउने विषय नारामा मात्रै सीमित भइरहेका छन् : रामेश्वरप्रसाद खनाल, पूर्व अर्थ सचिव
काठमाडौँ — सुशासन र मितव्ययिताको नारा दिएर बनेको एमाले-कांग्रेस गठबन्धन सरकारका पदाधिकारीलाई विदेश भ्रमण गर्न भ्याईनभ्याई भएको छ। सरकारी ढुकुटीको दोहन गर्दै प्रधानमन्त्री, मन्त्री र सचिवहरू लर्को लागेर विदेश सयर गरिरहेका छन्।
मन्त्रिपरिषद्को हरेकजसो बैठकले गरेको निर्णय सूचीमा मन्त्री र सचिवहरूको विदेश भ्रमणलाई स्वीकृति दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको यात्रामा जानुअघि असार १३ मा बसेको मन्त्रिपरिषद्ले दुई जना मन्त्री र पाँच जना सचिवहरूको विदेश भ्रमणलाई स्वीकृति प्रदान गरेको थियो। त्यसअगाडि असार ९ को बैठकले तीन जना मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको थियो।
असार २ को मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको स्पेन यात्रासहित पाँच जना मन्त्रीको विदेश भ्रमणलाई स्वीकृति प्रदान गरेको थियो। यसरी असार महिनामा मात्रै प्रधानमन्त्री ओलीसहित एक दर्जन मन्त्रीको विदेश भ्रमणलाई मन्त्रीपरिषद्ले स्वीकृति दिइसकेको छ। त्यस्तै, असारमा मात्रै ८ जना सचिवहरूको विदेश भ्रमण स्वीकृत भइसकेको छ। कतिपयले भ्रमण पूरा गरिसकेका छन् भने कतिपय भ्रमणमा जाने तयारीमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्पेनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छ। गत शनिबार त्यसतर्फ गएका ओली साताव्यापी यात्रा पूरा गरेर शुक्रबार स्वदेश फर्किए। संयुक्त राष्ट्र संघको विकासका लागि वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी स्पेन पुगेका थिए।
परराष्ट्र मन्त्री आरजु राणा देउवा १७ दिने विदेश भ्रमणमा छिन्। असार १३ देखि २९ सम्मको उनको यात्रालाई असार ९ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। उनी रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औँ सम्मेलनमा भाग लिन गएकी छन्। असार १४-२० सम्म उक्त सम्मेलन हुँदै छ।
उक्त सम्मेलनपछि परराष्ट्र मन्त्री राणा इटलीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्डले लगानी प्रवर्द्धन सम्बन्धी आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छिन् । उनी असार २९ मा स्वदेश फर्किने छिन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी असारको प्रारम्भमा जेनेभा भ्रमणमा थिए।
जेठको अन्त्यमा ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा पुगेका उनी असार ४ गते नेपाल फर्किएका थिए। भण्डारी फर्किने दिन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बैंकक उडेका थिए। ह्यान्ड इन ह्यान्ड इन्भेस्टमेन्ट डायलगमा सहभागी हुन उनी त्यता गएका थिए ।
त्यही समयमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी दुबईमा थिए । कृषि मन्त्री थाइल्यान्डबाट फर्किनासाथ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल त्यता उडे । असार ९ देखि १३ सम्म उनी बैंकक यात्रामा थिए । स्वास्थ्य मन्त्री फर्किने दिन भौतिक पूर्वाधार तथा यातायात टर्की प्रस्थान गरे । असार २ को मन्त्रिपरिषद्ले असार १३ देखि १५ गतेसम्मका लागि मन्त्री दाहालको टर्की भ्रमण स्वीकृत गरेको थियो ।
ग्लोबल ट्रान्स पोर्ट कनेक्टिभिटी फोरममा सहभागी हुने उनको कार्यक्रम थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का सांघाईको अपरेसन अर्गनाइजेसनले चीनको झेजियाङ प्रान्तको निङबो सहरमा आयोजित कार्यक्रममा सहभागी हुन असार ९ गते त्यता गए। त्यता उनले एक साता बिताएका छन्।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल असार १० देखि १२ सम्म जनवादी गणतन्त्र चीन भ्रमणमा जाने तय थियो। एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा जानलाई उनलाई मन्त्रिपरिषद् स्वीकृति प्रदान गरिसकेको थियो । तर, बजेटमाथिको छलफल नसिकिएकाले उनी त्यता जाने कार्यक्रम स्थगित भयो।
खानेपानी मन्त्री प्रदीप यादव असार १५ देखि १९ सम्मका लागि स्पेन यात्रामा छन् । प्रधानमन्त्री सहभागी हुने विकासका लागि वित्त कार्यक्रमकै साइड कार्यक्रमका लागि यादव यता गएका हुन् । त्यस्तै, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहलाई असार १४ मा जर्मनीको बोनमा आयोजना हुने ३६ औँ नेपाल डे कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको हुन लागेको विदेश यात्रालाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरिसकेको छ । त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारी असार महिना भित्रै दोस्रो पटक विदेश यात्रामा जाँदैछन् ।
सञ्चार मन्त्री गुरुङ असार २३ देखि २७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा हुने वर्ल्ड समिट वन इन्फर्मेसन सोसाइटीको कार्यक्रममा भाग लिने तय छ । त्यस्तै, पर्यटनमन्त्री पाण्डे पेरिस जाँदैछन् । असार २२ गतेबाट त्यहाँ हुने वर्ल्ड हेरिटेजको ४७ औँ सेसनमा उनले भाग लिने कार्यक्रम छ । कृषि मन्त्री अधिकारी असार ३० मा भियतनाममा प्रस्थान गर्दैछन् । एक देश एक उत्पादनको प्राथमिकता सम्बन्धी ज्ञान आदान प्रदान सम्बन्धी कार्यक्रममा उनले भाग लिने कार्यक्रम छ ।
मन्त्री तथा सचिवहरूको विदेश भ्रमणको ताँतीलाई पूर्व अर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनाल सबैको आशक्ति विदेश भ्रमणमा देखिनुको परिणाम भन्छन्।
‘उच्च पदस्थ सम्माननीय पदमा रहेकादेखि मन्त्री, सांसद सबैमा विदेश भ्रमणको मोह अत्यधिक छ,’ उनले भने, ‘निजामतीमा झन् व्यापक छ । त्यसैको परिणाम हो । सुशासन र मितव्ययिताको गफ गरेर बाहिर राम्रो प्रचारबाजी गर्नेहरूमा पनि पदमा पुगेपछि विदेश भ्रमण प्राथमिकतामै पर्ने गर्छ ।’
उनले कुनै पनि पदाधिकारीको विदेश भ्रमण किन ? त्यसले त्यसलाई के लाभ हुन्छ ? पदीय मर्यादा सुहाउँदो भ्रमण छ कि छैन ? यी कुराहरू नहेरिँदा जो जता पनि भ्रमणमा जाने गरेको बताए ।
‘जान कति जरुरी छ । देशको ढुकुटी कस्तो छ । जानैपर्ने, गरिमापूर्ण छ कि छैन यी विषयमा कसैले ध्यान पुर्याइरहेको पाइँदैन,’ उनले भने, ‘सुशासन, मितव्ययिता र चालु खर्चलाई घटाउने विषय नारामा मात्रै सीमित भइरहेका छन् ।’
