किन पक्राउ परेनन् ठगी मुद्दा लागेका नापी अधिकृत ?

जेठ १३ मा पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाइए पनि उनी सम्पर्कविहीन

असार १९, २०८२

शिव पुरी

Why was the measuring officer who was involved in the fraud case not arrested?

रौतहट — ठगी आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको एक महिना बितिसक्दा पनि काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजारअन्तर्गत टोखा टोली प्रमुख सञ्जय साह पक्राउ पर्न सकेका छैनन् ।

इलाका प्रहरी गरुडाले अदालतबाट ठगी मुद्दा दर्ता गरी साहको नाममा गत जेठ १३ मा पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाए पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् । 

ठगी आरोपमै प्रहरीले नापी प्रमुख साह, दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साह, काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धीरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिइएको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए । गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरले नापी प्रमुख साह अहिलेसम्म पक्राउ नपर्नुको कारण काठमाडौं प्रहरीमा बुझ्ने बताए । ‘किन पक्राउ परेनन् भन्ने विषयमा म बुझ्छु,’ उनले भने, ‘वास्तविकता के हो, पक्राउ पुर्जी मगाएर यस विषयमा गम्भीर भएर हेर्छु ।’

पक्राउ पुर्जी पाएर पनि जिल्ला प्रहरी परिसर काठमाडौं चुप बसेको पीडित चौधरीले गुनासो गरेका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले नापी प्रमुख साहलाई पक्रन निर्देशन दिइसकेको दाबी गरे । 

जग्गा बैना गरेर खरिद, बिक्रीमा टोखा नापी प्रमुख साह सहितका मानिस जोडिएपछि गरुडा प्रहरीले ठगी मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिएको हो । पीडित चौधरीले जग्गा खरिद गर्न १ करोड १० लाख पैसा जम्मा गरेको प्रमाण प्रहरीसमक्ष पेस गरेका छन् । जग्गा खरिद बिक्रीमा बदनियत देखिएकाले ठगीमा अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ । 

नापीका प्रमुख साह असार १५ सम्म बिदामा बसेको थिए । नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले टोखा प्रमुख साहको बिदा सकिए पनि उनी सम्पर्कमा नरहेको जानकारी दिए । ‘१५ दिनको बिदा सकिए पनि साह सम्पर्कमा छैनन्,’ उनले भने, ‘बिदा सकिएर साह कार्यालय आएका छैनन् ।’ टोली प्रमुख साहविरुद्ध पक्राउ पुर्जी जारी भएको र साहलाई प्रहरी कार्यालय हाजिर हुन भनेर पत्र आएको ओलीले जानकारी दिए ।

दुर्गाभगवतीका पूर्वअध्यक्ष साहले १० लाख लिएको र पीडितलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ । 

रौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा अकुत सम्पत्ति कमाएको आरोप पनि नापी प्रमुख साहमाथि लागेको थियो । तर त्यसमा अनुसन्धान भएको छैन । त्यसैबेला नापी प्रमुख साह र चौधरीबीच चिनजान भएको थियो । त्यसपछि काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको चौधरीले सुनाए ।

सुरुमा चौधरीले १ करोड १० लाख बैना गरेका थिए । रजिस्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए । उनका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो । उक्त जमिन साहले साझेदार भनिएका चौधरीलाई थाहै नदिई ०८०/०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरेपछि ठगीको आरोपमा प्रहरीमा जाहेरी परेको हो ।

प्रहरीले जग्गाधनी विमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि छोरा धीरजलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully