मलाई लागेको आरोपबारे जारी सचिवालय बैठकमै बोल्न पाऊँ : झाँक्री

असार १९, २०८२

कान्तिपुर संवाददाता

I will be able to speak about the allegations in the ongoing secretariat meeting: Jhankri

काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिवालय बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको विषयमा छलफल भएको छ । 

अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर भएपछि झाँक्रीले प्रश्न गरेकाले पार्टीले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । भ्रष्टाचार मुद्दा लागिसकेकाले काँध थाप्न नसक्ने भन्दै उनले  अध्यक्ष नेपाललक्षित प्रश्न उठाएको भन्दै अनुशासन विभागले बुधबार स्पष्टीकरण सोधेको थियो । आइतबार बुटवलमा पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

झाँक्रीले भने स्पष्टीकरण सोधेको पत्र प्राप्त नभएको भन्दै आफूमाथि लागेको आरोपबारे जारी सचिवालय बैठकमा बोल्न पाउनुपर्ने माग गरेकी छन् ।'ममाथि जुन आरोप लगाइयो, त्यसबारे जारी बैठकमा आफ्नो धारणा राख्न पाउनुपर्छ,' उनले भनिन्, 'यसबारेमा मैले केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको छु ।'

उनले भ्रष्टाचार मुद्दा लागिसकेपछि नैतिकताको विषय भएकाले यसबारे छलफल हुनुपर्ने बताइन् । 'मैले कुनै व्यक्ति विशेषलाई भन्दा पनि भ्रष्टाचारजस्तो गम्भीर आरोप लागिसकेपछि छलफल हुनुपर्छ भनेको हुँ,' उनले भनिन्, 'पार्टीमा अरु विभिन्न गम्भीर प्रकारका आरोप लागेका नेताहरु पनि छन्, उनीहरुलाई बोकेर हिँड्न सकिँदैन । स्वस्थ र सक्षम नेतृत्वका लागि महाधिवेशनमा जाने प्रक्रियाका विषयमा कुरा उठाएको हुँ ।'

कान्तिपुर

Link copied successfully