संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो : अध्यक्ष दाहाल

असार १९, २०८२

कान्तिपुर संवाददाता

Parliamentary system is a system of hanging goat's head and selling dog meat: Speaker Dahal

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली’ भएको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले जनवादी क्रान्तिको क्रममा मार्क्सवाद प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भन्ने भनाइ निकै प्रचार गरिएको स्मरण गराए। हाल समितिको प्रतिवेदनमाथि भइरहेको छेडखानी त्यस्तै प्रकृतिको भएको उल्लेख गरे।

निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी विषय उठाउँदै दाहालले देखाउँदा खसीको टाउको देखाइए पनि बेच्दा कुकुरको मासु बेचिएझैँ व्यवहार देखिएको टिप्पणी गरे।

उनले भने, 'अहिले तपाईँ हामी हेर्‍यौँ भने संविधानमा निर्दिष्ट गरिएका मूलभूत मान्यतालाई इमानदारिताका साथ प्रयोग गर्ने एउटा विचार, एउटा प्रवृत्ति छ भने, अर्को संविधानमा भएका सबै सकारात्मक, प्रगतिशील र लोकप्रिय कुराहरू उल्ट्याउने र त्यसलाई प्रतिक्रियावादी अनुकूल बनाउने कसरत वा लडाइँ चलिरहेको छ। हामीले हिजो जनवादी क्रान्तिको क्रममा मार्क्सवाद प्रचार गर्दा भन्थ्यौँ— संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको थियो। अहिले भइरहेको समितिका प्रतिवेदनमाथिका छेडखानीहरू त्यस्तै हुन्। देखाउँदा खसीको टाउको देखाइएको छ— लोकतन्त्र, तर बेच्दा कुकुरको मासु बेचिएको छ भित्रभित्रै। त्यस्तै चिज चलिराखेकै छ।'

अध्यक्ष दाहालले आफू सरकारमा रहँदा हरेक पटक समाजवादतर्फ लैजाने बल गरेका दाबी गरे। उनले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भइसकेको उल्लेख गर्दै नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको बताए। समाजवादको जग बसाल्न कम्युनिस्टहरूले नै अगुवाइ गर्नुपर्ने धारणा पनि उनले राखे।

कान्तिपुर

Link copied successfully