कांग्रेस र सरकारलाई कमजोर बनाउन मविरुद्ध षड्यन्त्र भयो : गृहमन्त्री लेखक

असार १८, २०८२

तर्कराज भट्ट

There was a conspiracy against me to weaken the Congress and the government: Home Minister Author

डडेल्धुरा — गृहमन्त्री रमेश लेखकले अहिले आफू राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताएका छन्। उनले आफूविरुद्ध षड्यन्त्र गरेर सरकार र नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको बताए।

पुर्ख्यौली थलो बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा लाग्ने मेला दर्शनका लागि जाँदै गरेका गृहमन्त्री लेखक डडेल्धुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘सरकारलाई कमजोर बनाउने र कांग्रेसलाई बदनाम बनाउने उद्देश्यले मेरो विरुद्ध षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘संयुक्त सरकारमा स्वाभाविक रूपमा केही चुनौती त हुन्छन्, तर हामी सहमतिका आधारमा अगाडि बढिरहेका छौं।’

उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको आधारमा अहिलेको सरकार बनेको स्पष्ट पारे। उनले भने,‘सरकार संचालनको क्रममा केही जटिलता आउनु स्वाभाविक हो, तर कांग्रेस र एमालेबीच कुनै समस्या छैन।’

उनका अनुसार अध्यागमन व्यवस्थापन सुधारका लागि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग समेत सहमति भई उच्चस्तरीय समिति गठन भइसकेको छ। कुनै एक कर्मचारीको अनियमितता देखाएर मन्त्रीको चरित्र हत्या गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए।

‘यदि कुनै कर्मचारीले गल्ती गरेको छ भने त्यसको कारबाही अख्तियारले गर्छ,’ उनले प्रष्ट पारे। गृहमन्त्री लेखकले एमाले संगको सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवा आगामी एक वर्षपछि पुनः प्रधानमन्त्री बन्ने र २०८४ सालको आम निर्वाचन उहाँकै नेतृत्वमा हुने दाबी पनि गरे।

कार्यक्रममा उनले कांग्रेस कार्यकर्तालाई सचेत रहन आग्रह गर्दै भने, ‘मेरो मन्त्रालय वा सचिवालयबाट कुनै कमजोरी भए सुझाव दिनुहोस्, म सुधारको पक्षमा छु।’

गृहमन्त्री लेखक परिवारसहित बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा लाग्ने मेला दर्शन गर्न गइरहेका छन्। भोलि त्रिपुरा सुन्दरीमा भब्य मेला लाग्दैछ। मेलामा दर्शन गर्नु अघि उनले डडेल्धुरामा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेका हुन्।

तर्कराज भट्ट

Link copied successfully