उपनिर्वाचनबाट सक्रिय राजनीतिमा ‘कमब्याक’को दाउमा खाँण

रुपन्देही-३ मा उपनिर्वाचनको मिति तोकिएसँगै टिकटका लागि प्रयास गर्दै खाँण, अन्य दलका उम्मेदवारको चर्चा बढ्दै

असार १८, २०८२

घनश्याम गौतम

Mining in the stake of 'comeback' to active politics from by-elections

बुटवल — भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु अघिसम्म कांग्रेस नेता बालकृष्ण खाँण पार्टीमा प्रभावशाली मानिन्थे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेका नेता खाँणलाई नेपाली कांग्रेसको ‘भावी सभापति’को रूपमा चर्चा हुने गर्थ्यो । 

कुनै बेला कांग्रेसका प्रभावशाली नेता अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । तर, तिनै खाँण रूपन्देही निर्वाचन क्षेत्र नं.–३ को कात्तिक १७ मा हुने उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् ।

जिल्लाका राजनीतिक कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिका रूपमा सहभागी हुन थालेसँगै  उनको 'कमब्याक'को सम्भावना बढेको छ । भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर उनी २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो । खाँण गृहमन्त्री भएकै बेला रूपन्देही क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।

तर, कांग्रेस–माओवादीको गठबन्धनका खाँणलाई पराजित गर्दै एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए । बोहोरालाई २०७४ को निर्वाचनमा कांग्रेसले सहयोग गरेको थियो । तर, एमालेका घनश्याम भूसालले जितेका थिए । बोहोरालाई समर्थन गर्दै त्यतिबेला कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । तर, अहिले तिनै बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई निर्वाचन अभियानमा बोल्दै नबोली चुनाव हराएका थिए ।

कोभिड संक्रमणपछि घाँटीमा गम्भीर समस्या देखिएका बोहोराको २०८१ चैत १९ मा निधन भएपछि रूपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ । सोही उपनिर्वाचनमार्फत खाँण पुनः सक्रिय राजनीतिमा ‘कमब्याक’को खोजीमा लागेका हुन् । त्यसका लागि उनले सत्तारूढ दल एमालेसँग पनि सहयोगका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ ।

संसदीय निर्वाचनमार्फत सक्रिय राजनीतिमा कमब्याक हुनका लागि खाँणको बाटो भने सहज छैन । त्यसअघि भुटानी शरणार्थी प्रकरणको मुद्दाको किनारा लाग्नुपर्ने छ । भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंगिएको छैन । टुंग्याउने प्रयास सुरु भए पनि त्यसको प्रक्रिया लामो हुने कानुनविद्हरूको भनाइ छ । पाटन उच्च अदालतबाट धरौटीमा रिहा भए पनि सोही प्रकरणका अन्य अभियुक्तहरू पूर्वगृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी थुनामै छन् ।

खाँणको मुद्दामा पनि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अहिलेसम्म सर्वोच्च अदालत गएको छैन । त्यसलाई कांग्रेससँगै अन्य दलका नेता कार्यकर्ताले राजनीतिक संरक्षणका रूपमा हेरेका छन् । त्यसैले पनि कांग्रेसकै कार्यकर्ता खाँणलाई बोकेर निर्वाचनमा जाने चाहनामा देखिँदैनन् । ‘बालकृष्ण दाइलाई हामीले चुनावमा मत माग्न जान सक्ने अवस्था अझै बनेको छैन,’ कांग्रेस तिलोत्तमा नगर समितिका एक सदस्यले भने, ‘यदि बालकृष्ण दाइ राजनीतिमा सक्रिय हुने हो भने पहिला अदालतबाट सफाइ पाएर आउनुपर्छ, अन्यथा बोकेर हिँड्न सकिँदैन ।’

खाँण नेपाली कांग्रेसमा पटक–पटक अवसर पाएका व्यक्तिमै पर्छन् । उनीमाथि आफू पटक–पटक लाभको पदमा पुगेको र आफूबाहेक परिवार मात्र अघि सारेको आरोप पनि लाग्ने गरेको छ । २०७९ सालको निर्वाचनकै समयमा उनी पराजित हुनुको अर्को मुख्य कारण श्रीमती मञ्जु खाँणलाई समानुपातिक कोटामा राखेर सांसद बनाउनु पनि हो । भाइ रामकृष्ण खाँण जिल्ला सभापति छन् । उनी तिलोत्तमा नगरपालिकाका प्रमुख पनि हुन् । ‘त्यसकारण पनि सधैँ परिवारवादमा रमाउने नेताको पछाडि हामी लाग्नु जरुरी पनि छैन,’ ती सदस्यले भने ।

अर्को अप्ठ्यारो- कुनै समय कांग्रेसमा शेरबहादुर देउवा निकट मानिएका खाँण अहिले शेखर समूहका लागेको चर्चा पनि हुने गरेको छ । कांग्रेस संस्थापन पक्षका बलिया नेता मानिने खाँणले कारागार बस्दा संस्थापन समूहले सहयोग नगरेको गुनासो गर्ने गरेका छन् । कारागारमा रहेकै बेला भने कोइरालाले उनलाई दुई पटक भेटेका थिए ।

संस्थापन पक्षका कार्यकर्ताबाट समर्थन जुटाउन नसके पनि उनलाई राजनीतिमा 'कमब्याक' हुन अप्ठ्यारो छ । तर, उनलाई संस्थापनकै नेताका रूपमा अघि सार्ने रणनीतिमा देउवा रहेको स्रोतले बतायो । कात्तिक १७ मा हुने रूपन्देही–३ को उपनिर्वाचनमा एमालेसँग समन्वय गरेर भए पनि खाँणलाई संसद्‍मा लैजाने प्रयास देउवाले गरिरहेको स्रोतले बतायो । ‘तर, त्यसका लागि खाँण संस्थापन समूहमै स्पष्ट खुल्नुपर्छ,’ स्रोतले भन्यो, ‘त्यसो हुँदा चुनाव जित्न पनि सहज हुन सक्छ ।’

रूपन्देही कांग्रेसमा खाँण अहिले पनि प्रभावशाली व्यक्ति हुन् । पञ्चायतकालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका खाँण २०३३ देखि कांग्रेसमा सक्रिय छन् । २०४४ पछि नेविसंघको केन्द्रीय अध्यक्ष बनेका खाँण २०४८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । उनी दुवै संविधानसभाका सदस्य पनि बने ।

खाँणले पटक–पटक गरेर रक्षा, सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैले उनको विकल्पमा राजनीतिक केन्द्रमा कांग्रेसको अर्को प्रभावशाली व्यक्ति पनि छैन । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले खाँणमाथि लागेको मुद्दाको टुंगो लागेपछि राजनीतिमा सजिलै पुनरागमन हुने बताए । ‘अहिले पनि पार्टीमा उहाँको सक्रियता खड्किएकै छ,’ उनले भने, ‘मुद्दाको किनारा लाग्नुपर्ने भएकाले जति हुनु पर्ने हो, त्यति नभएको अवस्था भने छ, तर कांग्रेसको राजनीति र संसदीय अभ्यासमा उहाँको कमब्याक छिट्टै हुने सम्भावना छ ।’

तर, उपनिर्वाचनका लागि कांग्रेसबाट रूपन्देही-३ मा प्रमोद यादव, भरत शाह र शाह पत्नी अनिता ढुंगाना पनि बलिया उम्मेदवार हुन् । यादव २०७९ मा रूपन्देही क्षेत्र नं.-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । शाह क्षेत्र नं.-५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित उम्मेदवार हुन् ।

रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । रूपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २ सय ७८ मत पाएको थियो । एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाले १४ हजार १ सय ५४ मत ल्याएको थियो । प्रत्यक्षमा जित हासिल गरेको राप्रपाले ९ हजार १ सय ८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपाले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३, जनमत पार्टीले ३ हजार ७ सय ३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीको लौरोले १ हजार ३ सय ४७ र नेकपा एसले ७ सय ८१ मत पाएका थिए ।

अहिले भने रूपन्देही–३ को राजनीतिक परिदृश्य फरक पनि पर्न सक्छ । राप्रपाको बलियो क्षेत्र मानिने यहाँ राप्रपाबाट अघि सर्ने उम्मेदवारले पनि केही फरक पार्न सक्छ । राप्रपाबाट दीपक बोहोराको विरासत जोगाउने गरी उम्मेदवार अघि सार्ने तयारी भइरहेको छ । त्योबाहेक माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उत्तिकै प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषण हुने गरेको छ ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बखत हुने उपनिर्वाचनले पनि यस क्षेत्रलाई प्रभाव पार्न सक्ने चर्चा भइरहेको छ । रास्वपाले पनि प्रभावशाली व्यक्ति उठाउने दाबी गर्दै उम्मेदवारको खोजी गरिरहेको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully