काठमाडौँ — संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसद्मा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका छन् ।
राज्य व्यवस्था समितिको बैठकपछि समितिका सभापति रामहरि खतिवडाले सभामुख घिमिरेलाई बैठकका निर्णयबारे मौखिक जानकारी गराएका छन् ।
लगत्तै सभामुख घिमिरेले खतिवडासहित एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका हुन् ।
सभामुख घिमिरेले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले उनी फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोकेको सभामुखलाई जानकारी गराएका छन् ।
