हराएको ५६ वर्षपछि घर फर्किए रामधुन, परिवारमा फर्कियो खुसी

६८ वर्षमा पाए नागरिकता

असार १७, २०८२

भानुभक्त निरौला

Ramdhun returned home after 56 years of disappearance, happiness returned to his family

सोलुखुम्बु — जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि.सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए ।

जन्मजात सुस्त मनस्थितिका परिवारका जेठो छोरा रामुधन बेपत्ता भएपछि परिवारले उनको खोजीका लागि निकै संघर्ष गरेको थियो । कतै नभेटिएपछि रामुधनलाई परिवारले नै माया मारिसकेको थियो ।

तर हराएको ५६ वर्षपछि रामुधन टुप्लुक्क गाउँमै देखा परे । नयाँ मान्छे गाउँमा आएको देखेपछि सोधपुछ भयो अनि गाउँकै सुबराम राईले ठम्याए , यी त तीनै हराएका रामुधन हुन् । त्यसपछि उनका बाबु कालुमान राईलाई बोलाइयो । गुमेको खुसी भेट्टायो परिवारले ।

८२ वर्षीय कालुमानले जीवनमा छोरासँग भेट हुन्छ भन्ने कल्पना गरेका थिएनन् । रामुधन अहिले ६८ वर्ष पुगे  । कुनै सरकारी कागजात नभएका उनलाई नागरिकता दिलाउन गाउँकै अगुवा सुबराम राई लागिपरे । उनले वडामा लगेर आवश्यक कागजात तयार गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरेले नागरिकता बनाएर हस्तान्तरण गरे ।

बुढेसकालमा छोराले नागरिकता पाएपछि वृद्ध बुवा निकै हर्षित छन् । ‘छोरो भेटिएला भन्ने आशा थिएन, भगवान्‌ले जुराइदिए,’  कालुमानले भने, ‘आज सीडीओ साबले नागरिकता पनि  दिनुभयो, मेरो खुसीको सीमै छैन ।’

नेपाली भाषा नबुझ्ने र राई भाषा मात्रै बोल्ने रामुधन पनि प्रशासन कार्यालयमा नागरिकता लिँदा सबैसँग हाँसेर खुसी साटे । पहिलो पटक आफ्नो घरमा देखा परेका रामुधन अहिले पनि सुबराम राईकै घरमा बसिरहेका छन् । रामुधन कहाँ बसे र कसरी यत्तिका वर्ष बिताए भन्ने कुरा उनले अझै भनेका छैनन् । यो उमेरका व्यक्तिलाई नागरिकता दिँदा फरक अनुभूति भएको प्रजिअ घिमिरेले बताए । ‘मैले कुनै कानुनी झन्झटबिनै सिधै नागरिकता जारी गरेर हस्तान्तरण गर्न पाउँदा खुसी छु,’ प्रजिअ घिमिरेले भने ।

भानुभक्त निरौला

Link copied successfully