कांग्रेस केन्द्रीय बैठकमा कोइराला र चौधरीको सवालजवाफ

असार १७, २०८२

कुलचन्द्र न्यौपाने

Questions answered by Koirala and Chaudhary at the Congress central meeting

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता शेखर कोइराला र केन्द्रीय सदस्य विनोद चौधरीको सवालजवाफ भएको छ । सोमबारको बैठकमा चौधरी केन्द्रीय सदस्य हुने योग्यता नै नराख्ने भन्दै कोइरालाले प्रश्न उठाएपछि मंगलबार चौधरीले त्यसको कडा प्रतिवाद गरेका हुन् ।

चौधरीले कांग्रेसका लुम्बिनी प्रदेश कायसमितिका महामन्त्री विक्रम खनाललाई कारबाहीबाट जोगाउनकै लागि कोइराला आफूमाथि खनिएको दाबी गरेका छन् ।

‘पार्टीलाई हाक्ने जमर्को नेताहरुको दृष्टिकोणमा निजी क्षेत्रमा काम गर्ने हामीहरु जस्ता मान्छेको भूमिका के हो ? कि सधैं नै हामीले द्वन्द्वको स्वार्थको नाममा अनुभव बोकेका मान्छेहरुलाई छेक्ने नै होकि, गुटको नाममा देशभरि छेक्ने हो ? कोइरालाप्रति लक्षित गर्दै चौधरीले भने,‘आज म बिनाहिच्किचाहट यो भन्न सक्छु कि, सम्पन्न नेपाल बनाउने एजेण्डा पस्केन पार्टीका उम्मेदवारलाई घरघरमा मान्छे राखिकन, बुथबुथमा मान्छे राखिकन, शीर्षस्थ नेताहरुलाई तथानाम गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीलाई बोकेर हिँड्ने नेताले यो पार्टी कसरी हाक्ने हो ? महत्वपूर्ण प्रश्न छ । 

उनले आफूमाथि लक्षित गरेर राखिएको धारणाले वरिष्ठ नेताहरुको नेतृत्वमाथि नै गम्भीर प्रश्न उब्जाएको बताएका छन् । कोइरालाले सोमबार बोल्दा १० वर्ष क्रियाशील सदस्य नभएका चौधरीलाई कसरी केन्द्रीय सदस्यका लागि उम्मेदवार बनाइयो भन्दै सभापतिसँग जवाफ मागेका थिए ।

विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने ईच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन,’ कोइरालले भने  ।

‘व्यक्तिगत रुपमा म उहाँलाई (शेखर) लाई सम्मान गर्छु, तर यो यस्तो सभामा यो तरिकाले प्रश्न गर्नु औचित्व छैन,’ उनले भने, ‘विश्वासको वातावरण बनाउनुको सट्टा हिजो जुन सन्देश जारी गरी बोल्नु भएको छ, त्यसले कांग्रेसकै नेतृत्व लिन खोज्ने वरिष्ठ नेताहरुको बारेमा गम्भीर प्रश्न उठाएको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully