सभापति देउवामाथि दबाब बढाउँदै कोइराला

केन्द्रीय समितिको पहिलो दिन नै कोइरालाले गरे प्रश्नको वर्षा, कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दाभन्दै एमालेलाई नेतृत्व दिएकामा पार्टी नेतृत्वको चर्को आलोचना

असार १६, २०८२

कुलचन्द्र न्यौपाने

Koirala increasing the pressure on Chairman Deuba

काठमाडौँ — एमालेसँगको सत्ता सहकार्यदेखि पार्टीको आन्तरिक अवस्था र अनुशासनका मुद्दामा कांग्रेस संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग तीव्र असन्तुष्टि जनाएका छन् । राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक मुद्दामा देउवासँग उतारचढावपूर्ण सम्बन्धमा रहेका कोइरालाले केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा सभापति देउवालाई एक दर्जनजति प्रश्न गर्दै असन्तुष्टि पोखेका हुन् ।

पार्टीभित्र प्रतिपक्ष आवाजको नेतृत्व गर्न नसकेको आरोप खेपिरहेका कोइरालाले नौ महिनाको अन्तरालमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिनमै देउवामाथि खनिँदै पार्टीभित्र प्रतिपक्ष खेमालाई सशक्त बनाउने छनकसमेत दिएको उनीनिकट नेताहरू बताउँछन् । बैठकमा कोइरालाले विगतको कमजोरी नदोर्‍याउने दाबीसमेत गरेका छन् ।

‘मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नहोस् भनेर १४ औं महाधिवेशनमा पराजित भएलगत्तै भागबन्डाको राजनीति गर्दिन भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ,’ कोइरालाले भने, ‘मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।’ उनीनिकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले राम्रा कामको स्वागत र नराम्रा कामको भण्डाफोर गर्दै जाने नीति संस्थापन इतर पक्षले लिएको बताए ।

१५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेर कोइराला देशव्यापी भ्रमण जारी राखेका छन् । महाधिवेशन कहिले हुने र कुन मितिमा हुने भन्नेबारेमा नै टुंगो नलागेको विषयमा पनि उनले बैठकमा सभापति देउवा र अरू पदाधिकारीमाथि तीतो पोखेका थिए । पार्टीको विधानअनुसार चार वर्षभित्र अर्थात् ०८२ मंसिरमै महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने कोइरालाको अडान छ ।

‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन, सभापतिज्यू र पदाधिकारीले साथीहरूले चित्तबुझ्दो जवाफ दिनुप(र्‍यो,’ महामन्त्री गगन थापातिर संकेत गर्दै कोइरालाले थपे, ‘पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’

कांग्रेसको महाधिवेशन विधानतः चार वर्षमा हुनुपर्छ । देउवा ०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति चुनिएका ०८२ मंसिरमा चार वर्ष पुग्दै छ । तर, आगामी महाधिवेशन मितिका विषयमा भने अहिलेसम्म अन्योल कायम छ । कांग्रेस महामन्त्री गगन थापाले ०८३ भित्रै महाधिवेशन हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम नटुंगिएको कारण देखाउँदै महामन्त्री थापाले बैठकमा महाधिवेशनको तालिका प्रस्ताव गर्न सकेनन् ।

०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन र अहिले एमालेसँग सत्ता सहकार्यको औचित्यमाथि पनि कोइरालाले बैठकमा प्रश्न गरेका थिए । ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? कोइरालाले भने, ‘सभापतिज्यूले यसको पनि चित्तबुझ्ने जवाफ दिनुपर्छ ।’

ठीक एक वर्षअघि, असार १५ कै दिन बालकोटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाबीच दही–चिउरा खाँदै गरिएको छलफलले संसद्का दुई ठूला दलबीचको समीकरणको बाटो तय गरेको थियो । त्यसको दुई दिनपछि असार १७ मा दुई दलबीच सातबुँदे सहमतिमा हस्ताक्षर भएको थियो । उक्त सहमतिमा आलोपालो सरकारको विषयदेखि संविधान संशोधन, सुशासन र आर्थिक सुधारका मुद्दा प्रमुख थिए । तर, सातबुँदे सहमति भएको ठीक एक वर्ष बित्दासमेत संविधान संशोधनका विषयमा सामान्य बहससमेत सुरु नभएकामा पनि कोइरालाले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

त्यस्तै उनले पार्टीको अनुशासन समितिले एउटै प्रकृतिका विषयमा कसैलाई सचेत गराउने त कसैलाई निलम्बन गर्ने विभेदपूर्ण व्यवहार गरेको आरोप पनि लगाएका छन् । उनले आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिले निष्पक्ष काम गर्न नसकेको भन्दै त्यसलाई विघटन गरेर वरिष्ठ नेताहरूको सहभागितामा अर्को समिति बनाउन मागसमेत गरेका छन् ।

०७९ को आम निर्वाचन र पछि भएको उपनिर्वाचनमा पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि गठबन्धनका नाममा पार्टीबाट उम्मेदवार हुनबाट वञ्चित गरिएको उनको भनाइ थियो । बैठकमा कोइरालाले केन्द्रीय सदस्य हुनका लागि योग्यता नपुग्ने विनोद चौधरीलाई केन्द्रीय सदस्यमा कसरी ल्याइयो भन्ने प्रश्नसमेत गरेका छन् । चौधरी पार्टीका केन्द्रीय निर्वाचित केन्द्रीय सदस्य हुन् ।

‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’ कोइरालाले भने, ‘सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकाले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।’

सर्वोच्च अदालतले दोषी किटान गरिसकेका सर्लाहीका सभापति सुरेन्द्र सिंहलाई नहटाएको, निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमानदार साथीहरूलाई टिकटबाट वञ्चित गरिएको, कञ्चनपुर र परासीमा बीपीको सालिक अनावरण कार्यक्रममा पार्टीका सदस्यहरूले बहिष्कार गरेको र पार्टीका भ्रातृ संस्थाहरू अस्तव्यस्त बनाएको भन्दै कोइरालाले पार्टी सभापति देउवालाई प्रश्नको वर्षा नै गरे ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए । महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण र पार्टी छलफलका एजेन्डा प्रस्तुत गरेका थिए ।

सोमबारको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली, पुष्पा भुसाल, गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार साहले पार्टीको आन्तरिक संगठन र सरकारको कार्यशैलीका बारेमा धारणा राखेका थिए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully