विनयी खोलामा डाइभर्सन निर्माण नहुँदा सयौँ मालवाहक ट्रक अलपत्र

असार १६, २०८२

नारायण शर्मा

Due to the construction of diversion in Binayi River, hundreds of cargo trucks are stranded

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा बाढी नघट्दा सडक डाइभर्सन निर्माण हुन सकेको छैन। आइतबारको बाढीले पुरानो डाइभर्सन बगाएपछि अहिले महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम आउजाउ गर्ने सयौँ मालवाहक र खाली ट्रक दुम्कीवास र बर्दघाट क्षेत्रमा रोकिएका छन्।

यसबीच साना गाडी र यात्रुवाहक बसहरू भने महेन्द्रराजमार्गको होङ्सीगेट–सर्दी खण्ड हुँदै गुडिरहेका छन्। तर, भित्री सडक साँघुरो भएकाले मालवाहक र लामो दूरीका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको छ।

बर्दघाट–दुम्कीवासबीच पर्ने १४ किलोमिटर लामो दाउन्ने सडक खण्डमा सामान्य वर्षा हुँदा पनि सवारी फस्ने समस्या देखिँदै आएको छ। यही त्रासका कारण लामो दूरीका यात्रुवाहक बसहरू बुटवल–पोखरा मार्ग हुँदै आवागमन गरिरहेका छन्।

शनिबारबाट पक्की पुलमार्फत सञ्चालनको तयारी

विनयी खोलामा निर्माण सम्पन्न भएको पक्की पुल आगामी शनिबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। तर, वर्षा जारी रहेकाले खोलाको बाढी नघट्दा पुलको अन्तिम तयारी र डाइभर्सन निर्माण कार्य अघि बढ्न सकेको छैन।

सडक आयोजनाको पूर्वी खण्ड प्रमुख ईश्वरबहादुर रिजालका अनुसार, डाइभर्सन निर्माणका लागि जेसीबी, स्काभेटर र डोजर तयार अवस्थामा भए पनि अत्यधिक पानीका कारण काम हुन नसकेको हो। 'पानी नघटे सम्म डाइभर्सन निर्माण सम्भव छैन,' रिजालले भने।

डाइभर्सन नहुँदा लामो दूरीका मालवाहक ट्रक र लरीको आवागमन ठप्प छ। प्रहरी प्रशासनले मार्ग अवरुद्ध भएको क्षेत्रका विभिन्न स्थानमा ट्रक र लरी रोकेको जानकारी दिएको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully