कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

असार १६, २०८२

कान्तिपुर संवाददाता

Congress Central Committee meeting begins

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी विधानअनुसार दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक यसपटक ९ महिनापछि बस्न लागेको हो ।

कांग्रेस महाधिवेशनको आन्तरिक तयारीका एजेन्डादेखि सरकारको कामकारबाहीको समीक्षासमेत बैठकले गर्ने भएको छ । त्यस्तै अधिवेशन गर्न नसकेर तदर्थवादमा चल्दै आएका भ्रातृसंस्थाको म्याद थपको एजेन्डा पनि बैठकमा प्रस्तुत भएको छ ।

सरकारको स्थिरताका नाममा संसद्‍का दुई ठूला दलबीच ०८१ असार १५ मा समीकरण निर्माणको सात बुँदे सहमति भएको थियो । बुँदामा औपचारिक हस्ताक्षर भने असार १७ गते भयो । यसबीच गठबन्धनका दुई दल कांग्रेस र एमाले विभिन्न उत्तरचढावपूर्ण घटनाक्रमबाट गुज्रिएका छन  ।

एकातिर सात बुँदे सहमतिअनुसार संविधान संशोधन, सुशासन र आर्थिक सुधारका काम हुन नसकिरहेकामा आलोचना बढिरहेको छ भने अर्कोतर्फ सत्ता हस्तान्तरणको विषयमा समेत अविश्वास बढ्दै गएको छ । अधिकांश सदस्यले सरकारको काम गर्ने कार्यशैली, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको प्रभावकारिताको मुद्दा उठाउने तयारी गरेका छन् । 

कान्तिपुर

Link copied successfully