काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले उद्यम प्रवर्द्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने बताएका हुन्। स्टार्टअपका लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने उनले बताए। युवाहरूले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री चौधरीले युवाका लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुखी क्षेत्रको सहभागिता, प्रदेश तथा स्थानीय सरकारका नवप्रवर्तनशील पहलहरूका बारेमा सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।
उनले भने, 'आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशीलता प्रवर्द्धन गरी निर्यातमुखी बनाउन यस्ता कार्यक्रमहरू निकै फलदायी हुन्छन्। युवा उद्यमीहरूलाई प्रेरणा दिई नयाँ उद्यम सुरु गर्न अवसर दिन्छ। नेपाली उत्पादन र सोचलाई तीन तहकै सरकारबाट प्राथमिकता दिनुपर्छ।'
उनले थपे, 'सरकारले ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ। स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्छ। युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ। युवाहरूले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ।'
मन्त्री चौधरीले युवाका लागि अबको निकास उद्यमशीलता, रोजगारी र सीप विकास भएको बताए।
