काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रमुख ५ दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आह्वान समेत गरेका छन् ।
सभामुख देवराज घिमिरेले निजामती शिक्षाजस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि अनुरोध गरेका छन् ।
रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै निरन्तर संसद अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणको छानबिन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति गरेका थिए । साेमबार भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि सरकारले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
समिति बनेपनि रास्वपा र राप्रपाले त्यसलाई अस्वीकार गर्दै आएका छन् । यही पृष्ठभूमिमा सभामुखले प्रमुख ५ दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतकसँग छलफल गरेका हुन् ।
